आर्थिक

ग्लोबल आइएमईले सीडीसी ग्रुपबाट ३ अर्ब ऋण लिने

२९ मंसिर, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बेलायतको विकास वित्त संस्था सीडीसी ग्रुपबाट २५ मिलियन अमेरिकी डलर (करिब ३ अर्ब रुपैयाँ) ऋण लिने सहमती पत्रमा हस्ताक्षर भएको छ । आज बैंकमा आयोजित एक समारोहबीच ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा सीडीसी ग्रुपका कन्ट्री रिप्रजेन्टेटिभ रवि रायमाझीले उक्त सम्झौता आदानप्रदान गरेका छन् ।

सीडीसीबाट प्राप्त ऋणले बैंकको कर्जा प्रवाह क्षमतालाई अभिवृद्धि गर्नुका साथै बैंकलाई नेपाल सरकारको प्राथमिकताका क्षेत्रहरु जस्तै जलविद्युत, नविकरणीय ऊर्जा र पूर्वाधार, निर्माण, उत्पादन, कृषि र पर्यटन क्षेत्रसम्बन्धी व्यवसायमा ऋण प्रदान गर्न सहयोग पुग्नेछ । साथै यस ऋणलाई बैंकले कोभिड महामारीपछिको आर्थिक पुनरुत्थान तथा रोजगारी सृजना गर्दै दिगो र समावेशी विकासमा लगानी बढाउन सहयोग पुग्नेछ ।

सीडीसी ग्रुपका प्रबन्ध निर्देशक तथा एशिया प्रमुख श्रिनि नागाराजनले नेपाल संधै सीडीसीको प्राथमिकतामा रहेको बताउँदै नेपालभर शाखा सञ्जाल पुगेको ग्लोबल आइएमई बैंकसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरेका छन् । उनले यस ऋण सहयोगबाट नेपालको आर्थिक पुनरुत्थान र दिगो विकासमा सीडीसीको प्रतिवद्धता रहेको प्रष्ट भएको समेत बताएका छन् ।

“विश्व अर्थतन्त्रमा देखिएको मन्दीसँगै अन्तर्राष्ट्रिय पुँजी लगानीमा कमी आएको अहिलेको अवस्थामा ग्लोबल आइएमई बैंकसँगको हाम्रो यस सहकार्यले नेपालमा लगानीको प्रचुर सम्भावना रहेको सकारात्मक सन्देश प्रवाह हुने र ठूला विदेशी लगानी भित्र्याउँदै मुलुकको आर्थिक रुपान्तरणमा सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ,” नागाराजनले भने ।

बैंकका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले विश्वका ७० भन्दा बढी देशमा सञ्जाल रहेको सीडीसीसँगको सहकार्यप्रति खुशी व्यक्त गर्दै प्राप्त ऋण सहयोगले बैंकको कर्जा लगानी क्षमता अभिवृद्धि हुने र प्राथमिकताका क्षेत्रमा लगानी बढाउन थप सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।