समाचार

ओलीलाई दाहालको चुनौतीः ज्ञानेन्द्रसँगको पाँच बुँदे सम्झौता प्रमाणित गर्नुस्

१ पुष, काठमाडौं । नेकपा (माओवादी)केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीले लगाएका आरोप प्रमाणित गर्न चुनौति दिएका छन् ।

ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहसँग प्रचण्डको पाँच बुँदे सहमति भएको भनेर बुधबार दिएको अभिव्यक्तिको अण्डन गर्दै दाहालले यस्तो चुनौति दिएका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबारको एक कार्यक्रममा दाहाल र ज्ञानेन्द्रबीच भारतमा पाँच बुँदे सहमति भएको र दुईजना बीचको साँठगाँठमा उपद्रव मच्चाइएको अभिव्यक्ति दिएका थिए ।

दाहालले आज ओलीलाई ‘पाँच बुँदे सहमति’ प्रमाणित गर्न र प्रमाणित गर्न नसके झुटो बोलेकोमा जनतासँग माफी माग्न चुनौती दिएका छन् । उनले ओलीलाई माक्सवाद र कम्युनिष्ट सिद्धान्तबाट कोसौं टाढा भागेको पनि बताएका छन् ।

दाहालले विज्ञप्तिामा लेखेका छन् ‘ओलीबाट मैले भूमण्डलीकृत साम्राज्यवाद र वित्तिय एकाधिकार पूँजीवादबारे गरेको विश्लेषण माथि गरिएको टिप्पणीलाई दलाल पूँजीपति वर्गको एजेण्टको टिप्पणीका रुपमा खारेज गर्दछु,’ उनले भनेका छन्, ‘आजको पूँजीवादको चरित्रबारे मैले गरेको विश्लेषण सही रहेको दाबीसहित नेपालको सेयर बजारका सन्दर्भमा हाम्रो पार्टी र म समेत लाखौं लगानीकर्ताको हितका पक्षमा रहेको स्पष्ट गर्न चाहन्छु । दलाल पूँजीपतिको झुटो प्रचारबाट भ्रमित नहुन म शेयर होल्डर जनसमुदायसँग अनुरोध गर्दछु । दाहालल ओलीलाई झुट, बेइमानी र धोकाको अर्को नाम भएको समेत बताएका छन् ।