समाचार

रक्षामन्त्रीबाट राजीनामा दिने डा.रिजालको घोषणा

१ पुष, काठमाडौं । रक्षामन्त्री डा.मीनेन्द्र रिजालले राजीनामा दिने घोषणा गरेका छन् । कांग्रेस १४ औं महाधिवेशनमा महामन्त्रीका उम्मेद्वार रिजालले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै रक्षा मन्त्रीबाट राजीनामा दिने घोषणा गरेका हुन् ।

कांग्रेस महामन्त्रीको मत गणनामा पछि परेका डा.रिजालले अन्तिम परिणाम प्राप्त हुनासाथ प्रधानमन्त्री समक्ष राजीनामा पेश गर्ने बताएका छन् । रिजाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले असोज २२ गते रक्षामन्त्रीमा नियुक्त गरेका थिए ।

डा रिजालले सामाजिक सञ्जालमा लेखेका छन्ः नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु । महामन्त्रीको जारी मतगणनामा अहिलेसम्म २१२० मत गन्दा गगन थापा १३८५ र विश्वप्रकाश शर्मा ८५१ मतसहित अगाडि रहेका छन् ।

प्रकाशशरण महत ६९८ मतसहित तेस्रो स्थानमा छन् । यसअघि तेस्रो स्थानमा रहेका प्रदीप पौडेल भने ६२१ मतसहित चौथो स्थानमा झरेका छन् । भने मीनेन्द्र रिजालले ३२६ मत प्राप्त गरेका छन् । त्यस्तै राजाराम कार्कीले ५९ मत प्राप्त गरेका छन् ।