राजनीति

पार्टी बाहिरका आम लोकतन्त्रवादीहरु बीच पनि कांग्रेसप्रति आकर्षण बढाएका छौँः डा.कोईराला

२ पुस, काठमाडौं । नेपाली कांग्रेसमा नेता डा.शेखर कोईरालाले पार्टी बाहिरका आम लोकतन्त्रवादीहरु बीच पनि कांग्रेसप्रति आकर्षण बढाएको बताएका छन् । १४ औं महाधिवेशन अन्तर्गत सभापतिमा पराजित डा.कोईरालाले आज विज्ञप्ति जारी गर्दै डा.कोईरालाले आफु केही मतबाट पराजित भए पनि लोकतन्त्रवादीहरुको “मन” जित्न सफल भएको बताएका छन् ।

पार्टी भित्र मात्र नभई पार्टी बाहिरका आम लोकतन्त्रवादीहरु बीच पनि आफुहरुले कांग्रेसप्रति आकर्षण बढाएका भन्दै भरोसा र विश्वासको वृद्धि गराएको बताएका छन् । डा.कोईराला दोस्रो चरणको मतदानमा १८ सय ५५ मत ल्याएर प्रधानमन्त्री समेत रहेको पार्टी सभापतिमा शेरबहादुर देउवालसंग पराजीत भएका थिए । सभापतिमा निर्वाचित शेरबहादर देउवालाई शुभकामना दिँदै डा.कोईरालाले देउवाको कार्यकालमा नेपाली कांग्रेसको गौरव पुनर्स्थापित हुनेछ भन्ने विश्वास पनि लिएका छन् ।

पार्टीको आन्तरिक निर्वाचनमा विजय र पराजयलाई स्वभाविक रुपमा लिदै कांग्रेस रुपान्तरणको एजेन्डामा निरन्तर कृयाशिल हुने पनि डा.कोईरालाको भनाई छ । डा.कोईरालाले आफुलाई प्राप्त मतले कांग्रेस सुधारको प्रकृयालाई अगाडि बढाउने थप जिम्मेवारी काँधमा आएको भन्दै ४० प्रतिशत मतले भावविभोर भएको बताएका छन् । साथै प्रतिनिधिहरुले आफुप्रति देखाएको विश्वास र भरोसा प्रति अविचलित रहने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

पार्टी भित्र रुपान्तरण र परिवर्तनको लडाई सहज नभएको भन्दै बर्तमान सभापति शेरबहादुर देउवासँग मात्र प्रतिस्पर्धा नभई पार्टी भित्र हुर्केको र झ्याङ्गिएको अराजनीतिक प्रबृति, गलत संस्कृति र संस्कारको विरुद्ध आफुहरु लडिरहेकोे बताएका छन् । उनले पार्टी भित्र गुट र भागबण्डा अनि पार्टीको नाममा अँध्यारो कोठामा विधान बिपरित हुने निर्णयका विरुद्धमा आफुहरुको लडाई रहेको पनि बताएका छन् । डा.कोइरालाले कांग्रेसलाई एक नम्बरको पार्टी बनाउन हिमाल, पहाड, तराई-मधेसका जनताको घरदैलोमा जाने घोषणा गरेका छन् । 

विज्ञप्तिमा भनिएको छ, पार्टीको १४औँ महाधिवेशनको मत परिणाम पछिका दिन राष्ट्रिय निर्वाचनको चहल पहल शुरु हुनेछ । कांग्रेसलाई एकढिक्का बनाएर मात्र हामी फेरी कांग्रेसलाई एक नम्वरको पार्टी बनाउन सक्छौं । कांग्रेसलाई एक नम्वरको पार्टी बनाउन हामी फेरी हिमाल, पहाड र तराई मधेश आउने नै छौं तपाईहरुको घर दैलोमा । हामीप्रति देखाएको स्नेह, सहयोग र सद्भावप्रति म धन्यवाद ज्ञापन गर्दछु र भविष्यमा पनि हामीलाई यस्तै माया र सद्भावको अपेक्षा गर्दछु ।