आर्थिक

पाटा नेपाल च्याप्टरद्धारा “पाटा युवा पर्यटन प्रोफेशनल शेफ प्रतियोगिता”

४ पुस, काठमाण्डौं । प्यासिफिक एशिया ट्राभल एशोसियसन (पाटा) नेपाल च्याप्टरले ग्लोबल कलेज इन्टरनेशनल सँगको सहकार्यमा यही १८ डिसेम्बर २०२१ का दिन काठमाण्डौको मध्य–बानेश्वर स्थित ग्लोबल कलेज इन्टरनेशनल मा “एक्सप्लोरिङ द अथेन्टिक डेलिकेसिज अफ नेपाल“ शीर्षक अन्तर्गत “पाटा युवा पर्यटन प्रोफेशनल शेफ प्रतियोगिता” सम्पन्न गरेको छ ।

पाटा युवा पर्यटन प्रोफेशनल शेफ प्रतियोगिता ‘पाटा युथ ट्यालेन्ट क्वेस्ट’ को चौथो संस्करण अन्तर्गत आयोजित एक कार्यक्रम हो । बार्षिक रुपमा आयोजना गरिने युथ ट्यालेन्ट क्वेस्ट पाटा नेपाल स्टुडेन्ट च्याप्टर सदस्यहरु तथा पाटा नेपाल च्याप्टरमा आवद्ध सदस्य शैक्षिक संस्थाहरुमा हस्पिट्यालिटी तथा पर्यटन विषयमा अध्ययनरत विद्यार्थीहरुको ज्ञान, सीप र क्षमतालाई प्रतिस्पर्धा मार्फत प्रस्फुटित गराउने तथा नेपाली पर्यटन क्षेत्रमा भावी सबल पर्यटन जनशक्तिको खोजमुलक अभियानको रुपमा अगाडि बढेको छ । सो कार्यक्रम प्रतिभावान यूवा पर्यटन विद्यार्थीहरुको पहिचान गर्ने र आवश्यक तालिम, सल्लाह–सुझाव र अवसरहरु प्रदान गरी उनीहरुको ज्ञान शीप र क्षमता अभिवृद्धि एवम सशक्तिकरण गर्नुका साथै पर्यटन क्षेत्रमा सफल भविष्य निर्माणका लागि अभिप्रेरित गर्ने एक प्रेरणादायक मञ्च बनेको छ ।

पाटा नेपाल च्याप्टरमा आबद्ध पाँच प्रमुख होटल व्यवस्थापन सदस्य शैक्षिक संस्थाहरु– सिल्भर माउन्टेन, गेट, जीसीआई, आईएसटी र नाथम को प्रतिनिधित्व गर्दै भविष्यमा नेपाली शेफ बन्न चाहने उत्कृष्ट १० विद्यार्थीहरूले प्रतियोगितामा भाग लिएका थिए । उनीहरुले नेपालको विविध संस्कृति र क्षेत्रहरूबाट केही स्वादिष्ट एवम् मौलिक नेपाली व्यञ्जनहरूलाई प्रोफेशनल पाक कला र नया रचनात्मक शैलीका साथ् प्रश्तुतीकरण गरे ।

प्रतियोगितामा शेफ गोविन्द नरसिंह केसी, शेफ जीतेन प्रधान, शेफ सुनसरी नेपाली र शेफ विक्रम गिरी लगायत विशिष्ट व्यक्तित्वहरुको निर्णायक मण्डलले सहभागी विद्यार्थीहरुका पाक कला र दक्षता को मूल्यांकन गर्नुभएको थियो । निर्णायकहरूले युवा विद्यार्थीहरूले प्रदर्शन गरेको जोश, तयारी, रचनात्मक शैली र नवीन विचारहरूबाट प्रभावित भएको बताए ।

ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेशन (गेट) मा अध्यनरत रुबी पुडासैनी र सुन्दर शेर्पाले विजेताको रुपमा पाटा युवा पर्यटन प्रोफेशनल शेफ प्रतियोगिताको उपाधि हात पारे। त्यसैगरी, नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट–नाथम प्रतिनिधित्व गर्दै पासाङ्ग ल्हामु शेर्पा र सोना श्रेष्ठ प्रथम उपविजेता र सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्ट प्रतिनिधित्व गर्दै सन्देश कँडेल र पेमा तामाङको द्वितीय उपविजेता घोषित भए । दुई विजेता विद्यार्थीहरूलाई पाटा नेपाल च्याप्टरबाट शेफ सन्तोष शाहसँगको विशेष मेन्टरशिप कार्यक्रम र अन्य आकर्षक पुरस्कारहरू प्रदान गरिनेछ ।

पाटा नेपाल च्याप्टरका निवर्तमान अध्यक्ष श्री सुनिल शाक्यले स्वागत मन्तव्य राख्दै पाटाको यो पहलले नेपाललाई हिमाल र साहसिक पर्यटनका अतिरिक्त संस्कृति र खानाकालागि उत्कृस्ट गन्तव्यको रूपमा प्रवद्र्धन गर्न र दीर्घकालीन रूपमा भविष्यका नेपाली शेफहरू निर्माण गर्ने अभियान मा उल्लेखनीय सहयोग प्रदान हुने बताउनु भयो। साथै, उनले समसामयिक परिस्थितिमा पर्यटन उद्योगको अस्तित्व रक्षा र पुनरुत्थान अभियान संगै खानाको गुणस्तर र सेवाको मानकीकरण गर्दै अगाडि बढ्नुपर्ने आवस्यक रहेको बताए ।

ग्लोबल कलेजका निर्देशक डा देवराज पनेरुले उपस्थित अतिथि र सहभागीहरूलाई स्वागत गर्दै आफ्नो कलेजले बिद्यार्थीहरुको बहुआयामिक विकासका लागि ५० भन्दा बढी संस्थाहरूसँग सहकार्य र साझेदारी गरेको बताउनुभयो, जसमा पाटा सँगको सहकार्यले पर्यटन तथा आतिथ्यता मा अध्यनरत बिद्यार्थीहरुलाई आवस्यक सहभागिता र व्याहारिक सिकाई प्रदान गर्न धेरै फलदायी एवम् प्रभावकारी रहेको र आगामी धेरै वर्षसम्म पाटासंग निरन्तर सहकार्य रहने बताउनु भयो ।

पाटा नेपालका सिइओ श्री सुरेश सिंह बुडालले पाटा नेपाल च्याप्टरका तर्फबाट धन्यवाद ज्ञापन गर्दै प्रतियोगिताको नतिजा घोषणा गर्नुभयो । वहाँले यही बर्ष गत अप्रिल २०२१ मा पब्लिक स्पिकिङ प्रतियोगिता, टुरिजम एण्ड हस्पिटालिटी क्विज, पाटा फुटसल प्रतियोगिता र कन्टेन्ट राइटिङ प्रतियोगिता लगायतका चार प्रमुख प्रतियोगिता सम्पन्न भएको र जोश, जागर र कलाकौशलताले निपूर्ण भावी नेपाली शेफहरु को पहिचान सहित सम्पन्न “युवा पर्यटन प्रोफेशनल सेफ कम्पिटिशन” संगै पाटा युथ ट्यालेन्ट क्वेस्ट’ को चौथो संस्करण समेत समापन भएको बताउनु भयो । पाटा नेपाल च्याप्टरले मार्च २०२२ मा पाटा युथ ट्यालेन्ट क्वेस्टको पाँचौं संस्करण आयोजना गर्नेछ ।