५ पुस, काठमाडौं । विवेकशील साझा पार्टीले संयोजक मिलन पाण्डेलाई स्पष्टीकरण सोधेको साँचो भएको बताएको छ ।
विवेकशील साझाका प्रवक्ता शरदराज पाठकले विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यममा आएका भ्रामक समाचारबारे पार्टीको गम्भिर ध्यानाकर्षन भएको भन्दै पाण्डेलाई स्पष्टीकरण सोधेको साँचो भएको बताएका हुन् ।
साथै सझाले विचारमा लेखकलाई व्यक्तिगत विश्लेषणको छुट भए पनि समाचारमा त्यस्तो छुट नहुने भन्दै पार्टीबारे समाचार प्रकाशन गर्दा पार्टीको धारणा सहित प्रकाशन गरिदिन आग्रह समेत गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, विवेकशील साझा पार्टीले पार्टीका संयोजक मिलन पाण्डेलाई स्पष्टीकरण सोधेको साँचो हो । त्यसबाहेक, विभिन्न मिडियामा आएजस्तो अन्य कुनै पनि नेतालाई स्पष्टीकरण सोध्ने या कारबाही गर्ने कार्य भएको छैन । केही नेताहरूको आन्तरिक रूपमा भूमिका परिवर्तन गर्न लागिएको हो। त्यो कारबाही होइन।
साथै सझाले पार्टीको बागमती प्रदेशका सह-संयोजकले राजीनामा दिएको तर मिडियाहरूमा आएजस्तो बागमती प्रदेश समिति भङ्ग नभएको समेत बताएको छ । साझाले मिडियामा आएजस्तो निर्वाचन आयोगले पार्टीसँग कुनै स्पष्टीकरण नसोधेको भन्दै निर्वाचन आयोगले केही विषयमा ‘प्रतिक्रिया’ मागेको र त्यो पार्टीले बुझाइसकेको पनि स्पष्ट पारेको छ ।
राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसार कुनै पनि पार्टीको केन्द्रीय समितिको निर्णय विरुद्ध उजुरी दिनु परेमा केन्द्रीय समितिका ४० प्रतिशत सदस्यको हस्ताक्षर सहित ३० दिनभित्र निर्वाचन आयोगमा उजुरी गर्नु पर्ने भन्दै पार्टी संयोजक मिलन पाण्डेले केन्द्रीय समितिका दुई जना सदस्यको असहमति संलग्न गरी दिएको उजुरीको कुनै कानुनी औचित्य नरहने सझाले बताएको छ । साथै सोही कुरा पार्टीले निर्वाचन आयोगले मागेको प्रतिक्रियामा उल्लेख गरेको पनि जारी विज्ञप्तिमा उल्लेख छ ।





