१० पुस, काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशबाट निर्वाचित सभापतिसहितका पदाधिकारी र सदस्यलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ । गत मङ्सिर २४ देखि २८ गतेसम्म काठमाडौँमा सम्पन्न कांग्रेस महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट केन्द्रीय कार्यसमितिका १३४ पदाधिकारी र सदस्य निर्वाचित भएका छन् ।

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासहितका पदाधिकारी र सदस्यलाई पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित समारोहमा पार्टीको केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले महाधिवेशनबाट निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका हुन् ।

पदाधिकारी र सदस्यलाई प्रमाणपत्र प्रदान गरिएसँगै नेपाली कांग्रेसको १४औँ महाधिवेशन औपचारिकरुपमा समापन भएको छ ।

मुलुकको प्राकृतिक परिवर्तनका लागि विभिन्न कालखण्डमा नेतृत्वदायी भूमिका खेल्दै आएको नेपाली कांग्रेस मुलुकको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टी हो । प्रमाणपत्र वितरणको कार्यक्रम सम्पन्न भएलगत्तै पार्टीकोे नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ ।








