१० पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसीबारे अमेरिकालाई अनावस्यक दबाब नदिन भनेको बताएका छन् ।
माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित केन्द्रीय सल्लाहकार र ज्येष्ठ कम्युनिस्ट मञ्चको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमसीसीबारे अमेरिकासंग निरन्तर छलफल भईरहेको भन्दै अनावस्यक दबाब नदिन भनेको बताएका छन् ।
साथै उनले गठबन्धनलाई थप मजबुत बनाउने प्रयास भइरहेको बताएका छन् । संसदको प्रतिपक्ष दल नेकपा एमालेले गठबन्धन टुटाउने हो भने अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्न सहयोग हुन सक्छ भनेर खुलेआम भन्दै आएको दाहालले बताएका छन् ।
सत्तारूढ पाँच दलीय गठबन्धनमा कुनै समस्या नभएको भन्दै अध्यक्ष दाहालले गठबन्धन टुटाउन नेकपा एमाले लागेको बताएका छन् । अध्यक्ष दाहालले आइतवारबाट काठमाडौंमा शुरू हुने माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनबाट आउने निष्कर्षले पार्टीलाई पुनः जनतासँग जोड्ने बताएका छन् ।





