राजनीति

विभिन्न पाँच निर्णय गर्दै सकियो कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक

१० पुस, काठमाडौं । विभिन्न पाँच निर्णय गर्दै नेपाली कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक सम्पन्न भएको छ । केन्द्रीय निर्वाचन समितिबाट प्रमाणपत्र लिए लगत्तै सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक राखेका हुन् ।

आजको बैठकले महाधिवेशनपछिको अवस्थामा पार्टीमा सुदृढ एकता कायम गरेर अगाढि बढाउने संकल्प गरेको महामन्त्री गगनकुमार थापाले जानकारी दिएका छन् । त्यस्तै, पार्टीको महाधिवेशनलाई सम्पन्न गराउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिने निर्णय गरेको छ ।

बैठकले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा पार्टीका उम्मेदवारका लागि सभापति शेरबहादुर देउवाको हस्ताक्षर प्रयोग गर्ने र निर्वाचन आयोगमा पार्टीको दर्ता अद्यावधिक गर्ने र राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न मुख्यसचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी दिने निर्णय गरेको छ ।