१० पुस, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा ४० प्रतिशत मत पाएर देउवासंग पराजीत भएका शेखर कोईराला पार्टीको २० औं नम्बरको वरीयतामा परेका छन् । आज पहिलो केन्द्रीय कार्यसमिति बैठकअघि सभापति शेरबहादुर देउवाले निर्धारण गरेको वरीयतामा कोइरालालाई २० औं नम्बरमा राखिएको हो । कोइरालालाई वर्तमान र पूर्व पदाधिकारीपछिको वरीयतामा राखिएको छ । कोइरालाले १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवासँगको प्रतिस्पर्धामा ४० प्रतिशत मत पाएका थिए ।
नयाँ वरियताअनुसार सभापति देउवा र पार्टीका उपसभापति, महामन्त्री र सहमहामन्त्रीहरु छन् । त्यसपछि पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वमहामन्त्री डा. शशांक कोइरालालगायत रहेका छन् । त्यसपछि शेखरलाई राख्दा उनको वरियता २० औंमा परेको हो । १३ औं महाधिवेशनमा केन्द्रीय सदस्यमात्रै रहेका कोइरालाको त्यतिबेलाको वरियता ३५ औं नम्बरमा थियो ।
कांग्रेसमा यसअघि सभापतिको निकटतम प्रतिद्वन्दीलाई सभापतिपछिको दोस्रो वरीयता दिने गरिएको थियो । १० औं महाधिवेशनमा गिरिजाप्रसाद कोइरालासँग प्रतिस्पर्धा गरेका देउवालाई तेस्रो वरीयतामा राखिएको थियो । सभापतिपछि वरिष्ठ नेता कृष्णप्रसाद भट्टराई र देउवाको वरीयता निर्धारण गरिएको थियो । तर १४ औं महाधिवेशनमा देउवासँगको प्रतिस्पर्धामा दोस्रो भएको शेखरलाई २० ओैँ नम्बरमा राखिएको छ ।





