समाचार

वर्षौंदेखि अलपत्र ‘रजघरा खानेपानी योजना’

रामपुर ११ पुस । सरकारी काम कहिले जाला घाम’ भन्ने उखानै छ । करोडौँका सरकारी योजना निर्माण कार्य थालिए पनि बीचमै अलपत्र बनेका छन् भने कतिपय योजना शिलान्यास भएर पनि अघि बढ्न नसकेका प्रशस्तै भेटिन्छन् । राज्यले खर्चेका योजना समयमा नै सम्पन्न नहुँदा सरोकारवाला कहिले काम सकिएला भनेर दिन गन्ती गरेर बस्न बाध्य छन् । रजघरा खानेपानी तथा सरसफाइ योजना सुरु गरेको अहिले आठ वर्ष भयो ।

तर काम भने अझै सम्पन्न हुन सकेका छैनन् । स्थानीय उपभोक्ताले कहिले नयाँ योजनाबाट पानी उपभोग गर्न पाइएला रु भन्ने आशै आशमा आठ वर्ष बिताए । काम सम्पन्न हुन नसक्दा बीचमै अलपत्र बनेको छ । रामपुर नगरपालिका–३ स्थित रजघरा (कामीगाउँ) मा सो आयोजना पर्दछ । वर्षौंदेखि काम थालनी भएर सम्पन्न नहुँदै अलपत्र जस्तै हुँदा नयाँ योजनाबाट पानी पिउने आशा हराउँदै जान थालेको स्थानीय सन्तकुमारी विकको गुनासो छ ।

उनले भने, “दैला अगाडि खानेपानी आयोजनाको ठूलो ट्याङ्की छ, तर ट्याङ्कीमा पानी खसेको देखिएको छैन, काम थालनी गरेको त धेरै नै वर्ष बिते, पानी भने वितरण हुन सकेको छैन ।” बस्तीदेखि करिब तीन किलोमिटर पर धुधुर्दीखोलाको मुहानबाट पानी ल्याउनका लागि सो ठाउँमा साना दुई वटा ट्याङ्की र कामीगाउँमा एक वटा दुई लाख लिटरका ट्याङ्की निर्माण गरिएको छ । एक वटा इनट्रयाक, एक वटा सिसी क्रसिङ, डिसी ५० घनमिटरको र दुई लाख घनमिटरको एक\एक वटा ट्याङ्कीको निर्माण कार्य पूरा भए पनि २६ किलोमिटर पाइपलाइन बिस्तार हुन नसक्दा योजना अलपत्र भएको हो ।

खानेपानी योजनाका नाममा अहिले सम्ममा लाखौँको लगानी भएको छ । खानेपानी तथा सरसफाइ कार्यालयका प्राविधिक नारायण अर्यालले कार्यालयबाट पटकपटक उपभोक्ता समितिलाई योजना सम्पन्न गर्न ताकेता गर्दा पनि काम पूरा हुन नसकेको बताए । उनका अनुसार यस योजनाका लागि हालसम्म रु ७८ लाख ९५ हजार रकम नेपाल सरकारको खर्च भइसकेको छ । केन्द्र सरकारको योजना रहे पनि पछि प्रदेश सरकार मातहतमा रहेर सञ्चालन गर्ने भनिए पनि बीचको समय कोभिड-१९ को असरले गर्दा काममा तालमेल नमिलेको उपभोक्ता समितिले जनाएको छ । ट्याङ्की निर्माण भएपछि पानी राखेर परीक्षण गरियो तर उपभोक्तालाई काम नसकिएकाले अहिले पुरानै ट्याङ्कीबाटै पानी खुवाइएको उपभोक्ता समितिका अध्यक्ष प्रेमप्रकाश पाण्डेयले बताएका छन् ।

“उपभोक्तासँग २० प्रतिशत रकम उठाएर काम गर्नुपर्ने हुदा झण्झट हुँदोरहेछ, सङ्घीयता आएपछि सरकारले लागतबिना पानी उपलब्ध गराउने भन्ने कुरा पनि अघि सारेको हुँदा उपभोक्ताबाट रकम अशुल्क अप्ठ्यारो परेकाले पनि योजना पूरा गर्न सकिएको छैन”, उनले भने । यस आयोजनाबाट कामीगाउँ, साइडाँडा, बोहोरीडाँडा, कुमालढिक, डाँडाबिडी, पूर्व माझटोल, पश्चिम माझटोल, चनौटे, गण्डकीढिक, बोटेगाउँ लगायतका क्षेत्रमा घरघरमा धारा जडान गरी खानेपानी पुर्याउने लक्ष्य छ । समितिका अनुसार करिब ९०० घरधुरीको योजना रहेपनि ५५९ घरधुरीमा सर्भे भएको छ । ट्याङ्कीदेखि तल करिब ६०० मिटर पाइप लाइन बिस्तार गरिए पनि योजनाअनुसार काम गर्न नसकिएको उपभोक्ता समितिका सचिव लोकनाथ भट्टराईले बताए ।

कार्यालय र समितिका बीचमा समन्वय नहुँदा योजना सम्पन्न हुन नसकेको उनको भनाइ छ । बोहरीडाँडा, साइडाँडा क्षेत्रमा पाइपलाइन बिछ्याउने काम भए पनि अन्य ठाउँमा बाँकी छ । योजना सम्पन्न हुनेगरी बजेट उपलब्ध नहुँदा पनि समस्या उत्पन्न भएको हो । गत वर्ष योजनाका लागि प्रदेश सरकारबाट प्राप्त रु ४० लाख रकम पाइप खरिदमा खर्च भएको समितिले बताएको छ ।

योजनाको काम सुरु गरेपछि समयमा नै सम्पन्न हुनुपर्ने स्थानीय समाजसेवी दामोदर पाठकको भनाइ छ । रामपुर नगरपालिका–३ का वडाध्यक्ष दिनेशकुमार खनालले योजना अलपत्र अवस्थामा रहँदा सबैको चासो र चिन्तन रहेकाले योजना सम्पन्न गर्न आफूले पहल गर्ने बताउनुभयो । उपभोक्ता समितिले १२ रोपनी जग्गा खरिद गरी योजना सुरु गरे पनि जग्गाको लागत मूल्य भने जानकारी नभएको स्वीकार गरेको छ । योजना सुरु हुँदाका बखत घरघरमा खानेपानी उपभोग गर्न पाइने भएपछि उपभोक्ता उत्साहित भएका थिए । उपभोक्ता समितिको कार्यालय सङ्घीय सरकारका सांसद दलबहादुर रानाले गरेका हुन् ।