११ पुस, काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का नेता सीपी गजुरेलले पूर्वमाओवादी र कम्युनिष्ट पार्टीहरूबीच एकता हुनुपर्ने माओवादी अध्यक्ष पुष्पकमल दाहालको धारणा आफु प्रति सकारात्कम रहेको बताएका छन् ।
नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै नेता गजुरेलले पुराना माओवादीहरू एकजुट हुनुपर्छ, एकताबद्ध हुनुपर्छ भन्ने माओवादी केन्द्रका अध्यक्ष दाहालले प्रस्ताव गरेको भन्दै त्यसका लागि आफूहरू समेत सकारात्मक रहेको बताएका छन् । त्यसका लागि महाधिवेशनले महत्वपूर्ण तीन निर्णयहरू लिनुपर्ने सर्त उनले राखेका छन् ।
नेता गजुरेलले महाधिवेशनले जनयुद्व सुरु गर्नुभन्दा अगाडिको केन्द्रीय समितिको बैठकको निर्णय पुनःस्थापित गर्नुपर्ने बताएका छन् । यस्तै उनले नेपालले गुमाएका भूभागहरू नक्सामा पाए पनि वास्तविकतामा नपाएको भन्दै त्यसका लागि पनि पार्टीले निर्णय लिनुपर्ने बताएका छन् ।
-एकताका लागि गजुरेलले राखेका तीन सर्तमाः महाधिवेशनले जनयुद्व सुरु गर्नुभन्दा अगाडिको केन्द्रीय समितिको बैठकले पारित गरेका निर्णय पुनस्थापित गर्नुपर्ने, जुन लक्ष्य राखेर जनयुद्ध गरिएको थियो अझै पनि त्यो अपुरो र अधुरो रहेकाले नेपाललाई जनगणतन्त्र बनाउनका लागि तुरुन्तै अघि बढ्नुपर्ने रहेको छ ।
-यस्तै राष्ट्रिय स्वाधिनताका केही विषय पनि तपाईँहरूले निर्णय लिनुभयो भने राम्रो हुन्छ भन्दै उनले भने अहिले चर्चामा रहेको राष्ट्रघाती एमसीसी खारेज गर्ने निर्णय गरौं ।
-सर्तको अन्त्यमा उनले नेपालले गुमाएका भूभाग नक्सामा पाए पनि वास्तविकतामा नपाइएको भन्दै यसका पनि पार्टीले निर्णय गर्नुपर्ने र यदी यी निर्णय माओवादी केन्द्रले यस महाधिवेशनबाट पारित गरेको खण्डमा पार्टी एकताका लागि बहस गर्ने ढोका खुला हुने पनि उनले बताएका थिए ।





