समाचार

एमाले ललितपुरमा पुरुषोत्तम आचार्य, एमाले जुम्ला अध्यक्षमा महत

२६ पौष, काठमाडौं । नेकपा (एमाले) जुम्लाले आठौँ जिल्ला अधिवेशनबाट सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । शुक्रबार सुरु भएको अधिवेशन आज नयाँ नेतृत्व चयन गर्दै सकिएको एमालेका जिल्ला इञ्चार्ज रतननाथ योगीले बताए ।

अधिवेशनले पाँच पदाधिकारीसहित ७५ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको छ । एमालेको जिल्ला अध्यक्षमा शान्तिलाल महत चयन भएउका छन् । यस्तै उपाध्यक्षमा सुरतबहादुर शाही, सचिवमा धनकृष्ण पाण्डे, उपसचिवमा प्रेम बुढा र मानबहादुर रोकाया चयन भएका छन् ।

अध्यक्षबाहेकका अन्य पदमा निर्वाचन गर्ने भनिए पनि अन्तमा सहमतिबाट जिल्ला कमिटी चयन गरेको पार्टी इञ्चार्ज योगीले बताए । सर्वसम्मतिबाट नेतृत्व चयन गर्दै कार्यकतालाई सकारात्मक सन्देश दिएको एमालेले जनाएको छ ।

एमाले ललितपुरको अध्यक्षमा पुरुषोत्तम आचार्य

यसैगरी एमालेको ललितपुर जिल्ला अध्यक्षमा पुरुषोतम आचार्य सर्वसम्मत रुपमा चयन भएका छन् ।

शुक्रबारदेखि सुरु भएको एमाले ललितपुरको आठौँ जिल्ला अधिवेशन अन्तर्गत आजको बन्दसत्रमा अध्यक्ष मण्डलबाट आचार्यसहित १२० सदस्यीय कमिटिको नामावली निर्वतमान अध्यक्ष हरिकृष्ण ब्यञ्जनकारले पढेर सुनाएका थिए ।

आचार्य यसअघि सो पार्टी जिल्ला सचिव थिए । आचार्यसहित कमिटिको उपाध्यक्षमा प्रेमभक्त महर्जन, सचिवमा राम राउत, उपसचिवमा श्याम ब्यञ्जनकार र तारा सञ्जेल चयन भएको बताइएको छ ।