स्वास्थ्य

२४ घण्टे कोरोना अपडेटः १५ हजार परीक्षण गर्दा तीन हजार पाँच सय भन्दा बढीमा सङ्क्रमण

२९ पौष, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमण तीन हजार ५५३ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा १५ हजार ८१ परीक्षण गर्दा तीन हजार ५५३ सङ्क्रमण पुष्टि भएको हो । परीक्षण गराएकामध्ये २३।६ प्रतिशतलाई सङ्क्रमण देखिएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १४ हजार ३४० पुगेको छ ।

पछिल्लो समय थप २७१ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या आठ लाख १५ हजार ३४७ पुगेको छ । निको हुने दर ९६।९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । विगत २४ घण्टामा एक जनाको सङ्क्रमणको कारणले निधन भएको छ । अहिलेसम्म ११ हजार ६१० जनाको निधन भएकोे छ । ५०० भन्दा बढी सङ्क्रमण भएको जिल्ला मोरङ, काठमाडौँ, ललितपुर, भक्तपुर र कास्की रहेका छन् । यस्तै २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा सुनसरी, चितवन मकवानपुर, बाँके, रुपन्देही र कैलाली रहेका छन् ।

शून्य सङ्क्रमित भएका जिल्लामा मुगु मात्र छ । नेपालमा सङ्क्रमण दर १६।९ प्रतिशत रहेको छ । हाल होम आइसोलेशनमा १३ हजार ५०३, संस्थागत आइसोलेशनमा ८३७ आइसियूमा ११० र भेन्टिलेटरमा २५ जनाको उपचार हुँदैछ ।

तीन लाख बढीले खोप लगाए

विगत २४ घण्टामा तीन लाख ५६ हजार चार जनाले खोप लगाएका छन् । अहिलेसम्म पहिलो मात्रा एक करोड ५४ लाख ६४ हजार ३३५ जना र पूर्ण मात्रा एक करोड १६ लाख ९१ हजार ३९३ जनाले लगाइसकेका छन् ।