समाचार

नेपाली सेनाको स्वास्थ्य शिविरबाट २६३ लाभान्वित

१ माघ, म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–३ लेतेमा आज सम्पन्न निःशुल्क स्वास्थ्य शिविरबाट करिब २६३ जना लाभान्वित भएका छन् । थासाङ गाउँपालिका, जिल्ला प्रशासन, स्वास्थ्य कार्यालय र जोमसोम अस्पतालसँग थासाङ गाउँपालिकाका बासिन्दालाई लक्ष्य गरेर प्राथमिक स्वास्थ्य केन्द्र लेतेमा शिविर आयोजना गरिएको थियो ।

शिविरमा १५० जनाले नेत्ररोग, ३७ जनाले बालरोग, ३० जनाले पाठेघर, ३२ जनाले दन्तरोग र ८४ जनाले भिडियो एक्सरे सेवा लिएका थासाङ गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक सीताराम कार्कीले जानकारी दिए।

बिरामीको स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषधि वितरणसम्बन्धी सेवा दिइएको थियो । नेपाली सेनाका विशेषज्ञ चिकित्सक, जोमसोम अस्पताल, थासाङ गाउँपालिका र लेते प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीले सेवा दिएका थिए । टुकुचे, कोबाङ, लेते, कुञ्जो र घाँसाका बासिन्दाले शिविरबाट सेवा लिएका थिए ।

शिविरमा आएका बिरामीका लागि थासाङ गाउँपालिकाले यातायात र खानाखाजाको व्यवस्था मिलाएको थियो । शिविरमा कोरोना भाइरसको सङ्क्रमणबाट जोगिने उपायका विषयमा सर्वसाधारणलाई सचेतनामूलक कार्यक्रम गरिएको थियो ।