खेलकुद

प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा कोइरालाको स्मारकस्थल उपेक्षित

३ माघ, महोत्तरी । नियमित सम्भार र रेखदेख नपाएपछि मटिहानी–७ स्थित शहीद केशव कोइरालाको स्मारकस्थल खण्डहरजस्तै बनेको छ । उनी नेपाली प्रजातान्त्रिक –लोकतान्त्रिक आन्दोलनका अथक योद्धा थिए ।

 नेपाली कांग्रेसको आह्वानमा सशस्त्र आन्दोलनको तयारी गरिरहँदा उनीलाई तत्कालीन निरंकुश पञ्चायती शासकले २०३१ साल साउन ३१ गते राती  मटिहानीमा गोली हानी हत्या गरेको थियो । विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापना भएपछि उहाँको  सहादत स्थलमा नै विसं २०५४ मा स्मारक बनाइएको थियो ।  यसपछि सो स्मारकस्थल मर्मत नपाएर बेवारिस बनेको हो ।

“केशवजस्ता सपूतको सहादतले मुलुकमा २०४६ सालमा प्रजातन्त्र पुनःस्थापना भयो, त्यसयता लोकतान्त्रिक आन्दोलन र मधेश आन्दोलनसँगै मुलुकले लोकतान्त्रिक सम्बिधान पनि पायो”,  केशवसँगै आन्दोलनमा होमिएका जलेश्वर नगरपालिका–५ पर्साका बासिन्दा बलराम शर्मा  भन्छन्,  “तर, हाँमी कृतघ्न भएछौँ, केशवको स्मारकस्थलको अहिलेको बेवास्ता देख्दा उहाँका प्रतिमा र स्मारक स्थल किन राखिएछ भन्ने लागेको छ ।”

शहीद कोइरालाको मटिहानी–७ स्थित सहादतस्थल (हालको श्रीराम माध्यमिक विद्यालय परिसर) मा निर्माण भएको स्मारक पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईले २०५४ साल चैत १० मा अनावरण गरेका छन् । अहिले नियमित रेखदेख, सरसफाइ नपाएर र छाडा गाईबस्तुको खुला विचरण भइरहँदा शहीद प्रतिमास्थलको अवस्था  दयनीय बनेको जनाइएको छ ।

“हामी पाँच जना (केशव कोइराला, गणेश नेपाली, श्रीधर ठाकुर, महेश कोइराला र बलराम शर्मा) मटिहानी चौकी कब्जा गर्न खटिएका थियौँ”, शर्मा त्यतिखेरको घटना सम्झँदै भन्छन्, “चौकी नजिक पुगेर हामीले पहिलो फायर ग¥यौँ, यसपछि प्रहरीको जवाफी फायरिङ सुरु भयो, हामीसँग प्रसस्त गोलीगठ्ठा नहुँदा फरक फरक दिशाबाट छरिएर सीमा कट्ने  धुनमा थियौ, ठ्याक्कै प्रहरीको गोलीले केशव ढल्नुभयो ।” त्यतिखेर चौकी कब्जा गर्न जानेमध्ये महेशको २०३३ सालमा ओखलढुङ्गामा सशस्त्र आन्दालनकै क्रममा सहादत भएको, गणेश  र श्रीधर ठाकुर पनि केही वर्षपहिले बितेपछि अब आपूmमात्र सो घटनाका पात्रमध्ये बाँकी रहेको शर्मा बताउछन् । केशव प्रजातन्त्रप्रतिको निष्ठा, यसका लागिको बलिदान र  समवयबीच उर्जा प्रवाह गरिरहने साथीका रुपमा सम्झना भइरहने शर्माको भनाइ छ । 

विसं २०४८ मा जननिर्वाचित कांग्रेसको सरकार गठन भएपछि गठित शहीद केशब कोइराला स्मृति प्रतिष्ठान मटिहानीले सरकारकै आर्थिक सहयोगमा शहीद कोइरालाको प्रतिमा बनाएर अनावरण गराएको थियो । शहीद प्रतिमास्थलको सौन्दर्य वृद्धि, नियमित मर्मत र सम्भारका लागि त्यसयता कतैबाट ठोस रकम प्राप्त हुन नसक्दा सोचे जति काम हुन नसकेको समितिका पदाधिकारी  बताउँछन् । “हामीलाई त्यतिखेर प्राप्त रकमले प्रतिमा स्थापित त ग¥यौँ”,  प्रतिष्ठानका अध्यक्ष एवं कांग्रेसका नेता उपेन्द्र चौधरीले भने, “गर्नुपर्ने काम धेरै भए पनि त्यसयता कतैबाट ठोस सहयोग नपाइँदा सोचेजस्तो प्रभाविलो र दिगो कामभने बढाउन सकिएन ।”

ओखलढुङ्गा जिल्लाको  रातमाटे–१ को छहरे कोइरालागाउँमा २००७ साल असार ३ गते जन्मीएका केशव कोइराला  मटिहानीस्थित याज्ञबल्क्य लक्ष्मीनारायण विद्यापिठमा अध्ययनरत रहेकै बेला मुलुकमा प्रजातन्त्र पुनःस्थापनाका लागि  कांग्रेसमा आबद्ध भएर आन्दोलनमा होमिएका छन् । जन्म पहाड भए पनि ज्ञानआर्जन र प्रजातान्त्रिक आन्दोलनमा मटिहानीसँग जोडिएका शहीद कोइराला महोत्तरीले चिनाएका सपूत रहेका मटिहानी–८ का बासिन्दा प्रेस स्वतन्त्रता सेनानी ८७ वर्षीय बिन्देश्वरीप्रसाद मण्डल बताउछन् ।

यसैबीच मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले शहीद केशव कोइरालाको स्मारक स्थलको सौन्दर्य वृद्धि, मर्मतसम्भार र देखभालका लागि केही रकम दिइए र अगामी दिनमा आर्थिक सहयोग गर्ने जानकारी दिए । “हामीले २०७५ मै नगरपालिकाबाट केही रकम छुट्याएर प्रतिष्ठानलाई दियौँ”, उनले भने, “यसयता प्रतिष्ठानबाट स्मारकस्थलबारे कुनै प्रस्ताव हालसम्म आएन ।” यसबीचमा सहादतस्थलसँगैको राम मावि परिसरमा शहीदकै स्मृतिमा सभाकक्ष बनाइएको र ‘शहीद केशव कोइराला सभा भवन’ नाउँ राखिएको नगर प्रमुख मण्डलको भनाइ छ ।