स्वास्थ्य

२४ घण्टे कोरोना अपडेटः थप १० हजार २५८ मा कोरोना सङ्क्रमण पुष्टि

४ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर थप १० हजार २५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यो सोमबारभन्दा तीन हजार ५२४ ले बढी हो । सोमबार देशभर छ हजार ७३४ नयाँ सङ्क्रमित पुष्टि भएको थियो । पछिल्लो २४ घण्टामा १७ हजार ८७२ पीसीआर र चार हजार ९५६ एन्टीजेन विधि गरी कूल २२ हजार ८२८ जनाको नमूना परीक्षण गर्दा १० हजार २५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ५६२ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख १७ हजार ५४७ पुगेको छ । यो दर ९४ दशमलव दुई प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षण गरिँदा आठ लाख ६८ हजार २१५ र एन्टीजेन विधिबाट परीक्षण गरिँदा एक लाख तीन हजार ९८३ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ । यसरी पीसीआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या ५० लाख ३६ हजार १२० र एन्टीजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या आठ लाख ९६ हजार दुई पुगेको छ । कूलमा सङक्रमण दर १७ दशमलव दुई  प्रतिशत छ ।

कोभिडविरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा दुई लाख १३ हजार १४८ रहेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३९ हजार ४४ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६२४ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर एक दशमलव चार प्रतिशत छ । 

हाल भेन्टेलेटरमा २८ र आइसियुमा १५१ जना रहेका छन् भने होम आइसोलेसनमा ३७ हजार ८२६, संस्थागत आइसोलेसनमा एक हजार २१८ र क्वारेन्टिनमा १०० जना रहेका छन् । 

पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, रुपन्देही र कैलाली रहेका छन् भने दुई सयभन्दा बढी उपचारार्थ सङ्क्रमित रहेका जिल्लामा धनुषा, पर्सा, नवलपरासी पूर्व, बाँके, दाङ र कञ्चनपुर छन् । शून्य सङ्क्रमित रहेका जिल्ला कुनै पनि नभएको मन्त्रालयले जनाएको छ । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा १७ हजार ७०९, ललितपुरमा चार हजार ४७१ र भक्तपुरमा दुई हजार ३९६ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।