अन्तर्राष्ट्रिय

रुसी राष्ट्रपति पुटिन र इरानी समकक्षी इब्राहिम बीच भेट

६ माघ, मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना इरानी समकक्षी इब्राहिम रायसीलाई भेटेर अफगानिस्तानको अवस्थाबारे आफू चिन्तित भएको र यस विषयमा छलफल गर्न चाहेको बताउँनु भएको स्पुतनिकले जनाएको छ।
‘अब अवश्य पनि तपाईं र हामी दुबै अफगानिस्तानमा विकास भइरहेको अवस्थाको बारेमा चिन्तित छौँ। म तपाईंसँग यी सबै मुद्दाहरू छलफल गर्न चाहन्छु र यस समस्यामा तपाईंको धारणा जान्न चाहन्छु,’ स्पुतनिकले पुटिनलाई उद्धृत गर्दे लेखेको छ। सो अवसरमा इरानी पक्षले भने मस्कोलाई २० वर्षको अवधिका लागि रणनीतिक सहयोग सम्झौताको मस्यौदा हस्तान्तरण गरेको छ । इरानी राष्ट्रपति इब्राहिम रायसीले मस्कोमा भ्लादिमिर पुटिनसँगको वार्तापछि बुधबार सो कुरा उल्लेख गरेको टास समाचार एजेन्सीले जनाएको छ ।
ूहामीले हाम्रा रुसी सहकर्मीहरूलाई हाम्रा देशहरू बीचको रणनीतिक सहयोगसम्बन्धी कागजात हस्तान्तरण गर्यौं, यसले कम्तिमा २० वर्षका लागि सहकार्यका सम्भावनाहरू निर्धारण गर्न सक्ने कुरामा विश्वासको वातावरण निर्माण गर्नेछ, रायसी भने ।
उनले तेहरान र मस्कोबीचको व्यापारको वर्तमान स्तर सन्तोषजनक नभएको भन्दै आर्थिक सहयोग बढाउन सुझाव दिएका थिए।
रायसी बुधबार औपचारिक भ्रमणका क्रममा मस्को पुगेका हुन् । इरानी राजनीतिज्ञले पदभार ग्रहण गरेपछि पुटिनसँगको यो पहिलो भेट हो। रायसीले बिहीबार रुसको स्टेट डुमा र मस्कोको क्याथेड्रल मस्जिदमा सम्बोधन गर्ने अपेक्षा पनि गरिएको छ ।