मनोरञ्जन

जुनी जुनी साथै बस्न तिमीलाई नै रोजेको छु

१० माघ, काठमाडौं । जीवनको त्याग र तपस्यापछि भेटिएको मान्छेलाई आफूबाट टाढा राख्न नसकिने तर्क पनि गीतमार्फत अभिव्यक्त गरिएको छ । पहिलो मायाको पहिलो अनुभव सङ्गाल्ने भाका फुराएको गीतमा कलिलो माया गाँसिदाका अप्ठेरा अनि रमाइला पल समेटिएको छ ।

गीतकार थापा आजभोलि समाजमा स्वार्थ बढेको बताउछन् । स्वार्थी प्रेममा युगल जोडी गाँजिएका र पछि विच्छेदका घटना बढ्दो छ । यसलाई रोक्नुपर्ने अभिभारा हाम्रो काँधमा छ भन्ने सोच पलायो । त्यही सिलसिलामा गीत तयार पारिएको उनले सुनाए ।

“अनेकौं मोड छिचोलेर र कयौँ ठक्कर खाएर स्थापित प्रेमसम्बन्ध जोगाउन अहिले कठिन भइरहेको छ”, गीत लेखनको क्षण सम्झँदै थापाले सुनाए,“ठूलो त्यागले जोडिएको सम्बन्ध नटुटोस्, हजारौंबाट छानेर भएको मिलन आकाश–धर्ती फाटे पनि फाट्नुहुन्न भन्ने कल्पना आयो, अनि शब्द ऊनैँ ।”

प्रहरी निरीक्षक थापा कविता, कथालगायत साहित्य लेखनमा समेत रुचि राख्छन् । थापाले यसपाली कलाकार (गीतकार) का रुपमा समेत आफ्नो परिचय फैलाए ।

‘तिमीलाई नै’मा गायक किरण भुजेल र गायिका मेलिना मैनालीको युगल स्वर छ । केही अघि ‘इनाक्षी इन्टरटेनमेन्ट’ युट्युब च्यानलमार्फत उक्त गीतको म्युजिक भिडियोसमेत सार्वजनिक भएको छ । त्यसमा दीपकराज विश्वकर्माको सङगीत तथा निर्देशन रहेको छ । भिडियोमा गायक÷गायिका स्वयंको अभिनय छ । केशवराज भट्टको कोरियोग्राफी, डिन्सन शाहको सम्पादन, अनिता ग्वाछाको शृङ्गार र अमन बडूको छायाङ्कनमा भिडियो तयार गरिएको हो ।

काठमाडौँको धार्मिक क्षेत्र साँखु क्षेत्रका प्राकृतिक दृश्य भिडियोमा समावेश छ । युवायुवतीको प्रेम र दम्पतीले वैवाहिक सम्बन्ध दीगो राख्ने कामना गरिएको गीतले समाजमा सकारात्मक सन्देश छरेको छ ।

निर्देशक दिपकराज विश्वकर्मा फिल्मी शैलीमा म्युजिक भिडियो बनाएको बताउँछन् । यसका शब्द रचना, सङगीत, स्वर र रमणीय क्षेत्रका दृश्यले दर्शकलाई तान्ने प्रयास गरेको छ । छोटो समयमा गीतले एक लाख ५४ हजार भ्युज पाएको छ ।