अन्तर्राष्ट्रिय

बेइजिङ्ग ओलम्पिकका लागि आएका १२ जनामा कोरोना सङ्क्रमण

१४ माघ, चीन । चीनको संघीय राजधानी बेइजिङ्गमा हुन लागेको ओलम्पिक खेलकुद प्रतियोगितामा सहभागी हुन आएकामध्ये १२ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

आगामी शुक्रबारदेखि सुरु हुने प्रतियोगितामा सहभागिताका लागि विभिन्न देशबाट सहभागीहरू आउने क्रम तीव्र छ ।

सहभागी आउने र परीक्षण गर्ने क्रम चलिरहेको र यो सङ्ख्या पछिल्लो २४ घण्टाको मात्रै भएको अधिकारीहरूले जनाएका छन् ।

प्रतियोगिताका लागि बिहीबार रातिसम्ममा एक हजार ६८२ जना बेइजिङ्ग आइपुगेका छन् ।

तीमध्ये एक हजार ४२ जना खेलाडी नै रहेका छन् भने ६४० जना खेल पदाधिकारी तथा अन्य रहेका छन् ।

प्रतियोगितामा सहभागी हुन आएका सवैको पिसिआर परीक्षण विमानस्थलमै गर्ने व्यवस्था मिलाइएको अधिकारीहरूले जनाएका छन् ।

कोरोनाभाइरसको महामारीबीचमा ठूलो चुनौतीलाई सामना गर्दै आयोजना गरिएको प्रतियोगिता फेब्रुअरी ४ मा सुरु भइ फेब्रुअरी २० मा सम्पन्न हुनेछ ।