अन्तर्राष्ट्रिय

युक्रेनका विषयमा कूटनीतिक समाधान खोजेको अमेरिकी राष्ट्रपतिको भनाई

४ फागुन, वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा रुसको सम्भावित हमलाको विषयमा अमेरिकाले कूटनीतिक समाधान खोजेको स्पष्ट गरेका छन् ।उनले अझै पनि रुसले युक्रेनमा हमला गर्ने सम्भावना नटरेको बताए । उनले भनेका छन् कि हमलाको सम्भावना अझै उच्च रहेको छ र यदि त्यसो भएमा रुसले निकै ठूलो मानवीय मूल्य चुकाउनु पर्ने हुनसक्छ ।

मंगलबार टेलिभिजनमा प्रसारित सम्बोधनमा उनले यदि रुसले युक्रेनमा हमला गर्यो र त्यस्तो मानवीय क्षतिको अवस्था आयो भने त्यसका लागि जवाफ दिन अमेरिका तयार रहेको चेतावनी पनि दिएका थिए।

राष्ट्रपति बाइडेनले अहिले पनि युक्रेनतर्फको सीमामा रुसले डेढ लाखजति सैनिक तैनाथ गरेको जानकारी दिनुभएको छ । तर उता रुसले भने आफ्ना केही सैनिकहरू फर्कन थालेको घोषणा गरेको छ । तर पनि त्यसमा सत्यता नरहेको अमेरिकी राष्ट्रपति बाइडेनको भनाई छ ।

बाइडेनले युक्रेनको सीमाबाट रुसी फौज फिर्तीको खबरलाई अमेरिकाले अझै पुष्टि नगरेको पनि सो सम्बोधनमा बताए । राष्ट्रपति बाइडेनले आफ्ना सत्रु रुसी नागरिक नभएको स्पष्ट गर्दै तर हमलाको अवस्था आएमा प्रतिबन्ध लगाउन आफूहरू तयार भएर बसेको धारणा राखे ।