राजनीति

नारामामात्र सीमित नगरी देश विकास र राजनीतिलाई सँगै लैजानुपर्छः वरिष्ठ नेता पौडेल

१३ फागुन, दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकास र राजनीतिलाई सँगै लैजानुपर्ने बताएका छन् । तनहुँको भानु नगरपालिका–११ रुपाकोटमा आज आयोजित कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले विकासलाई केवल नारामा सीमित नगरी राजनीतिसँग जोडेर अगाडि बढाउनुपर्नेमा जोड दिए।

“राजनीति र विकाससँगै लैजान सके मात्र जनताको समस्या समाधान गर्न सकिन्छ, जनताको सेवा गर्नका लागि नै हामीले राजनीति गरेका हौँ”, पौडेलले भने । उनले जनताको हरेक समस्या समाधानका लागि जनप्रतिनिधि सदैव प्रतिबद्ध हुनुपर्ने बताए । चौतर्फी विकास अहिलेको आवश्यकता रहेको बताउँदै पौडेलले विकासका लागि इच्छाशक्ति र समर्पण आवश्यक रहेको औल्याए । “जनप्रतिनिधिमा विकास दृष्टि चाहिन्छ, म पनि पहिल्यैदेखि विकासका लागि परेको छु र सदैव लागिरहनेछु”, उनले भने ।

सो अवसरमा वरिष्ठ नेता पौडेलले नेपालको विकासका लागि एमसिसी आवश्यक रहेकाले यसलाई पारित गर्नुपर्ने बताए । एमसिसी अमेरिकी जनताको उपहार भएको बताउँदै वरिष्ठ नेता पौडेलले एमसिसीको विषयमा अनावश्यक भ्रम फैलाइएको आरोप लगाए ।

वरिष्ठ नेता पौडेलले आज नै व्यास नगरपालिकास्थित कालिकामार्गसमेतको अवलोकन गरेका छन् । बुधबार गृहजिल्ला आइपुग्नुभएका वरिष्ठ नेता पौडेलले बिहीबार व्यास नगरपालिका–७ कलेस्ती, गजौडे, वृता, भानुको टुहुरेपसल र रम्घाटार, महन्ते हटिया, देउरालीटारमा कार्यकर्ता भेटघाट गरेका छन् ।