राजनीति

अध्यक्ष ओलीः देश र जनताको हितभन्दा एमाले कहिल्यै बाहिर जाने छैन

१४ फागुन, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी संसदीय प्रक्रियामा नै नरहेकाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) पास गर्ने अवस्थामा नरहेको बताएका छन् ।

प्रगतिशील पेसागत कानुन व्यवसायी सङ्गठनको दोस्रो राष्ट्रिय सम्मेलनलाई आज यहाँ सम्बोधन गर्दै उनले देश र जनताको हितभन्दा आफ्नो पार्टीबाहिर नजाने बताएका हुन्। “हामी संसद्को प्रक्रियामा सहभागी हुन पाएका छैनौँ”, उनले भने, “संसद् सहभागी हुन नपाएपछि हामीले राय कहाँ व्यक्त गर्ने । संसद्मा नै हामीले सहभागी नगराएपछि एमसिसी पास गर्ने कसरी र फेल गराउने कसरी ?”

अध्यक्ष ओलीले एमालेले राष्ट्रिय र जनताको हित तथा अन्तर्राष्ट्रिय सम्बन्ध हेरेर जे गर्दा राष्ट्रका लागि उचित हुन्छ, त्यही मात्र गर्ने बताए । उनले नेपाल न्यायको भूमि भएपनि न्याय मरेको बताउँदै सर्वोच्च अदालतले अन्तिम फैसला गर्ने निकाय भएको तर त्यसले व्याख्या गर्ने नाममा संविधानबमोजिम नगरेको उल्लेख गरे ।

अध्यक्ष ओलीले सर्वोच्च अदालतले स्वच्छेचारी निर्णय गर्दै जाँदा न्यायपालिकामा विकृति आउनेसमेत बताए । “सर्वोच्च अदालत विकृत भयो भने देश, समाज के हुन्छ । हाम्रो विधि कहाँ पुग्छ ?”, उनले प्रश्न गरे । उनले एमाले नेपालको न्याय क्षेत्र स्वच्छ, पवित्र र निष्पक्ष ढङ्गले संविधानबमोजिम हुनुपर्ने मान्यता राखेको बताए ।

अध्यक्ष ओलीले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई लगाइएको महाअभियोग पारित गर्न नल्याएको स्पष्ट पारे । “राणालाई लगाएको महाअभियोग संसद्मा निर्णयार्थ प्रस्तुत हुने छैन”, उनले भने, “महाअभियोग निर्णायार्थ प्रस्तुत गर्न ल्याएको होइन ।” सबै क्षेत्रमा न्याय र समानतासहितको समृद्ध नेपाल हुनुपर्नेमा उनले जोड दिए ।

सम्मेलनले नयाँ नेतृत्व चयनसमेत गर्ने छ ।