१७ फागुन, महेन्द्रनगर । महाशिवरात्री तथा सेना दिवसको पुर्वसन्ध्यामा नेपाली सेनाले कञ्चनपुरको बेदकोट नगरपालिका–२ जडेपानीमा मंगलबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
महेन्द्रनगरस्थित श्रीदल गुल्म भगतपुर ब्यारेकको आयोजना एवं बेदकोट नगरपालिकाको सहयोगमा सञ्चालित उक्त स्वास्थ्य शिविरबाट स्थानीय ५५५ महिला तथा पुरुषले स्वास्थ्य सेवा लिएका छन् । महाकाली प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा अर्जुन भट्ट, सेनाको श्री नंं ५ बाहिनीअन्तर्गत श्री नंं ५ फिएका डा रक्षा गुरागाईँलगायत दश चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले सेवा दिएको श्रीदल गुल्मका गुल्मपति सेनानी भीष्म केसीले जानकारी दिए ।
“सेना दिवसको अवसरमा नगरपालिका, स्वास्थ्य कार्यालय, महाकाली अस्पताललगायत निकायको सहयोगमा शिविर सञ्चालन गरिएको हो”, उनले भने– “नागरिक–सैनिक सम्बन्ध सुदृढीकरण गर्न र सामाजिक उत्तरदायित्वको भावना बोध गर्दै सेनाले विभिन्न सामाजिक काम गर्दै आएको छ ।” स्वास्थ्य शिविरबाट ३६४ महिला र १९१ पुरुषले स्वास्थ्य सेवा लिएको उनले जानकारी दिए । घरआँगनमै स्वास्थ्य सेवा पाएपछि स्थानीयले सेनाप्रति आभार प्रकट गरेका छन् ।





