खेलकुद

बागमती प्रदेशस्तरीय खेलकुद हुँदै


१९ फागुन, बागमती । वागमती प्रदेशस्तरीय खेलकुद प्रतियोगिताका लागि चितवनमा जिल्लास्तरीय खेलाडी छनोटको काम भइरहेको छ । चितवन जिल्ला खेलकुद विकास समितिका कार्यालयका प्रमुख रामजी ढकालका अनुसार हालसम्म ब्याडमिन्टन, एथलेटिक्स, बक्सिङ र भलिबल खेलका जिल्लास्तरीय खेलाडी छनोट सकिएको छ ।

विभिन्न आठ विधामा हुने छनोट प्रतियोगितामध्ये माडी र इच्छाकामनाले एक÷एक विधाका खेलाडी सहभागी गराएनन् भने रत्ननगर नगरपालिकाले पाँचवटा विधाको खेलकुदमा खेलाडी सहभागी नगराएको उनले बताए । माडी नगरपालिकाले ब्याडमिन्टन, इच्छाकामना गाउँपालिकाले क्रिकेट तथा रत्ननगर नगरपालिकाले एथलेटिक्स, भलिबल, बक्सिङ, कराँते र फुटबलमा खेलाडी सहभागी गराएनन् । 

कार्यालय प्रमुख ढकालका अनुसार जिल्लास्तरीय प्रतियोगिताबाट ब्याडमिन्टनका छ महिला र छ पुरुष, एथलेटिक्सका १२ महिला  र १२ पुरुष, बक्सिङका आठ महिला र १३ पुरुष  तथा भलिबलका १२ महिला  र १२ पुरुष  खेलाडी छनोट भइसकेका छन् । बुधबार र बिहीबार फुटबल, बिहीबार तेक्वान्दो र कराँते तथा शुक्रबार र शनिबार क्रिकेट खेलका खेलाडी छनोट गरिने भएको छ  ।  कराँतेका १० महिला  र १० पुरुष, फुटबलका १८ महिला  र १८ पुरुष तेक्वान्दोका १३ महिला  र १३ पुरुष तथा क्रिकेटका १४ महिला  र १४ पुरुष खेलाडी छनोट गरेर प्रदेश प्रतियोगितामा सहभागी हुन पठाइने कार्यालय प्रमुख ढकालले बताए । 

जिल्लाबाट छनोट भएका सबै खेलाडीले यही फागुन २८ देखि चैत ५ गतेसम्म हुने बागमती प्रदेशस्तरीय खेलकुदमा प्रतिस्पर्धा गर्नेछन् । हेटौँडामा उद्घाटन हुने सो प्रतियोगिताको समापन चितवनको माडीमा हुने बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य उत्तम गुरुङले जानकारी दिए । चितवनमा प्रदेशस्तरीय खेलकुदका भलिबलसहित अन्य दुई खेल हुने उनले बताए ।