१९ फागुन, बागमती । बागमती प्रदेश सरकारको मन्त्री परिषद्को बैठकले स्थानीय तहवाट कार्यान्वयन भइरहेको अधुरा योजनाका लागि समपुरक योजना अनुरुप रु चार करोड ६८ लाख ४५ हजार भुक्तानी दिने निर्णय गरेको छ ।
बुधबार साँझ बसेको बैठकले २५ गाउँपालिकामा कोभिडका कारण प्रभावित भएका योजनाका लागि सो बजेट उपलव्ध गराउन लागेको प्रदेशका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण खनालले जानकारी दिए ।
साथै बैठकले प्रदेश सरकारको सार्वजनिक खर्चको मापदण्ड २०७८ समेत पारित गरी कार्यविधिसमेत बनाएको जनाएको छ । सबै मन्त्रालयमा खर्चमा एकरुपता होस् र प्रभावकारी होस् भन्ने उद्देश्यले कार्यविधि निर्माण गरिएको उनले जानकारी दिए ।
यसैगरी बैठकले प्रदेश पूर्वाधार साझेदारी कार्यक्रम अन्तर्गत भइरहेको कामलाई अख्तियारी दिने पनि निर्णय भएको बताइएको छ । नेपाल निजामती कर्मचारी सङ्गठन मकवानपुरको अध्यक्षमा यादविन्द्र पौडेल चयन भएका छन । सो सङ्गठनको ११औँ मकवानपुर जिल्ला अधिवेशनले उनका नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा हेमकुमार पाठक, सचिवमा प्रकाश पौडेल र सहसचिवमा सम्झना शाही चयन भएको सङ्गठनले जनाएको छ । प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न सो अधिवेशनमा नेकपा (एमाले) मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठ,सङ्गठनका केन्द्रीय अध्यक्ष केदार देवकोटाले तीनै तहका स्थायी सरकार कर्मचारी रहेकाले इमान्दारीपूर्वक काम गर्न अनुरोध गदै नयाँ नेतृत्वलाई सफलताको कामना गरे ।





