राजनीति

किशुनजीले राजनीतिमा गरेको त्याग/सङ्घर्षलाई जनतासम्म लैजान जरुरीः महामन्त्री शर्मा

२० फागुन, काठमाडौं । सन्त नेता कृष्णप्रसाद भट्टराई (किशुनजी) को सम्झनामा दीप प्रज्वलन गरिएको छ । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री स्व कृष्णप्रसाद भट्टराईको ११औँ स्मृति दिवसका अवसरमा किशुनजी अध्ययन केन्द्रको आयोजनामा आज साँझ नयाँ बानेश्वरमा दीप प्रज्वलन गरिएको हो ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्वर्गीय भट्टराईले नेपाली राजनीतिमा गरेको त्याग र सङ्घर्षलाई आमजनतासम्म लैजानुपर्ने बताए। “किशुनजीको त्याग र आदर्श अहिलेको समयमा पनि उत्तिकै सान्दर्भिक छ”,  उनले भने । महामन्त्री शर्माले किशुनजीमा सरलतायुक्त सादगी जीवन, संस्कार, सिद्धान्त, निष्ठा, समन्वय क्षमता र समृद्धिको संकल्प भएको उल्लेख गरे ।

केन्द्रका अध्यक्ष अविनाश सिलवालले किशुनजीको राजनीतिक जीवनबाट कांग्रेसले पाठ सिक्नुपर्ने बताए । विसं २०७३ मा स्थापना भएको अध्ययन केन्द्रले किशुनजीका बारेमा अध्ययन अनुसान्धान गर्नुका साथै नयाँ बानेश्वरमा किशुनजी पार्क र किशुनजीको सालिक निर्माणमा महत्वपूर्ण भूमिका खेलेको छ ।