२१ फागुन, बलेवा । राष्ट्रिय समाचार समिति (रासस) बागलुङ कार्यालयका प्रमुख रामबहादुर थापालाई ‘ताराखोला सहिद स्मृति खोजमूलक पत्रकारिता पुरस्कार–२०७८’ प्रदान गरिएको छ । बागलुङको ताराखोला गाउँपालिकाले आज सहिद सप्ताहको समापन गर्दै थापासहित चार पत्रकारलाई पुरस्कार प्रदान गरेको हो ।
गाउँपालिकाले स्थापना गरेको पुरस्कार पाउनेमा कान्तिपुर दैनिकका उपसम्पादक प्रकाश बराल, धवलागिरि जागरण दैनिकका संवाददाता साधना पन्त र ताराखोलाका स्थानीय पत्रकार पूर्णभद्र न्यूरे छन् । गाउँपालिकाले स्थानीय तहमा रहेर काम गर्ने एक पत्रकार र जिल्लाभर उत्कृष्ट खोजमूलक समाचार लेख्ने तीन पत्रकार छनोट गरेर पुरस्कृत गरिएको हो । पत्रकार महासङ्घ बागलुङको सिफारिसमा छनोटमा परेका पत्रकार पुरस्कृत भएका हुन्।
उनीहरूरूलाई जनही रु १५ हजार नगद र सम्मानपत्र प्रदान गरिएको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताए। ताराखोला गाउँपालिकाले पहिलोपटक ‘ताराखोला सहिद स्मृति खोजमूलक पत्रकारिता पुरस्कार–२०७८’ प्रदान गरेको हो ।
‘ताराखोला सहिद स्मृति खोजमूलक पत्रकारिता पुरस्कार कोष’ स्थापना गरेर गाउँपालिकाले हरेक वर्ष खोजमूलक समाचार लेख्ने पत्रकारलाई पुरस्कृत गर्ने जनाएको छ । फागुन १४ देखि २१ गतेसम्म गाउँपालिकाले सहिद सप्ताह मनाउने गरेको छ । सहिद सप्ताहको समापनका अवसरमा सहिद तथा बेपत्ता परिवारलाई अभिनन्दन, २१ वटा सामुदायिक विद्यालयका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री प्रदान गरिएको थियो । द्वन्दको समयमा जिल्लामै सबैभन्दा धेरै प्रभावित भएको ताराखोलाले सहिदको सम्झनामा हरेक वर्ष विविध कार्यक्रम गरेर सहिद सप्ताह मनाउने गरेको छ ।