खेलकुद

प्रदेशस्तरीय खेलकुद हुने


२२ फागुन, बागमती । खेलकुदको प्रवद्र्धन तथा खेलाडीमा खेल प्रतिभाको खोजी गर्ने उद्देश्यले वाग्मती प्रदेश खेलकुद विकास परिषद्द्वारा प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता यही फागुन २८ देखि चैत १२ गतेसम्म सञ्चालन हुने भएको छ ।

हेटौँडा उपमहानगरपालिकाको वडा नं ५ स्थित क्याम्पाचौरमा सो खेलकुद प्रतियोगिताको मुख्यमन्त्री राजेन्द्र पाण्डेले उद्घाटन गर्ने कार्यक्रम छ । परिषद्द्वारा आज दिइएको जानकारीअनुसार प्रतियोगिताका खेल मकवानपुरसहित पाँच जिल्लामा हुने बताइएको छ ।

मकवानपुरमा पुरुष फुटबल, ब्याडमिन्टन र तेक्वान्दो प्रतियोगिता हुने बताइएको छ । फुटबल र ब्याडमिन्टन प्रतियोगिता फागुन २९ गते र तेक्वान्दो प्रतियोगिता चैत ६ गते हुनेछ । चितवनमा फागुन ३० गतेदेखि भलिबल र क्रिकेट प्रतियोगिता हुनेछ । सिन्धुपाल्चोकमा चैत ७ गतेदेखि कराते प्रतियोगिता हुनेछ । 

त्यसैगरी काठमाडौँमा चैत ६ गतेदेखि  एथलेटिक्स खेल प्रतियोगिता हुने सो परिषद्ले जनाएको छ । साथै काभ्रेपलाञ्चोकमा चैत ७ गतेदेखि महिला फुटबल र चैत ९ गतेदेखि बक्सिङ प्रतियोगिता सुरु हुने परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले बताए । अहिले प्रदेशका सबै जिल्लमा जिल्लास्तरीय छनोट प्रतियोगिता भइरहेका उनको भनाइ छ । प्रतियोगितामा एक हजार २०० भन्दाबढी पुरुष र ९०० भन्दाबढी महिला खेलाडीको सहभागिता रहने अनुमान परिषद्को रहेको छ ।

प्रतियोगिता आयोजनाका लागि रु आठ करोड ४० लाख खर्च हुने अनुमान रहेको सदस्य सचिव भण्डारीले जानकारी दिए । प्रतियोगिता आयोजनाका लागि पाँच उपसमिति र आठ प्राविधिक समिति गठन गरिएको छ । प्रतियोगिता उद्घाटन समारोहलाई भव्य बनाउन नेपाली सेनाको ब्याण्डसहित विद्यार्थीको ड्रिल प्रदर्शनी मार्शल आर्टको डेमो र विभिन्न झाँकी तथा सांस्कृतिक कार्यक्रमका आयोजना हुने बताइएको छ । खेलकुदको तयारी तीव्ररुपमा भइरहेको छ ।