पर्यटन/संस्कृति

उत्कृष्ट १० तस्वीरलाई रु १० र १० हजार नगद


३० फागुन, काठमाण्डौ । साँस्कृतिक संस्थानले देशका मौलिक वेषभूषा, गरगहना, जीवनशैली, रहनसहन, रीतिरिवाज, संस्कार, चाडपर्व, जात्रा, जातीय एवं साँस्कृतिक महत्वका विभिन्न तस्वीर समेटेर ‘साँस्कृतिक तस्वीर पुस्तक’ प्रकाशन गर्न लागेको छ ।

संस्थान स्थापनाको स्वर्ण महोत्सव (असार ५) का अवसरमा प्रकाशन गरिन लागेको पुस्तक नेपालको ‘विशेष चिनो’ का रूपमा रहने अपेक्षा गरिएको महाप्रबन्धक अशोककुमार राईले बताए ।  

संस्थानले स्थापनाकालदेखि नै नाटक, गीत, सङ्गीत, बाध्यवादन, नृत्यका साथै समग्र नेपाली लोकसंस्कृतिको संस्थागत विकास, संरक्षण, सम्वद्र्धन एवं दस्तावेजीकरण गर्दै आएको छ । प्रतियोगिताका आधारमा पुस्तकमा समेटिने ३०० तस्वीरमध्ये उत्कृष्ट १० तस्वीर प्रत्येकलाई रु १०/१० हजार नगद प्रदान गरिनेछ ।

संस्थानद्वारा आयोजित पत्रकार सम्मेलनमा पुस्तकका लागि तस्वीर उपलब्ध गराउन महाप्रबन्धक राईले व्यावसायिक फोटोग्राफरसहित समाजका सबै तह र तप्कालाई आह्वान गरे ।

संस्थानले पुस्तकका लागि तस्वीर छनोट गर्न नेपाली फोकलोर सोसाइटीका अध्यक्ष एवं प्राध्यापक तुलसी दिवस, राष्ट्रिय फोटो पत्रकार समूहका पूर्वअध्यक्ष राजभाई सुवाल र वरिष्ठ फोटो पत्रकार विकास कार्की सम्मिलित निर्णायक मण्डलसमेत गठन गरेको छ । संस्थानले प्रतियोगितामा सहभागी हुन इच्छुकलाई आगामी चैत २५ गतेभित्र तस्वीर पठाउन अनुरोध गरेको छ । 

सम्मेलनमा निर्णायक मण्डलका संयोजक संस्कृतिविद् दिवसले नेपाल विश्वमै लोक संस्कृतिका हिसाबले जीवित सङ्ग्रहालय भएको बताए । उनले भने, “विश्वमान चित्रमा नेपाल भौगोलिकरूपले सानो भए पनि साँस्कृतिक हिसाबले वैभव छ, नेपालको विविधता झल्कने वेषभूषा, रहनसहन, पहिरन, खाना, नृत्यजस्ता प्रदर्शनकारी लोक, संस्कृतिको ठूलो अर्थ र महत्व राख्छ ।