१ चैत, मस्को । । रुसी वार्ता टोलीका प्रमुख भ्लादिमिर मेदिन्स्किीले रुस र युक्रेनका बीचमा प्रायः दिनहुँ वार्ता भइरहेको जानकारी दिएका छन ।रुसी राष्टपति भ्लादिमिर पुटिनका निकटस्थ समेत मानिने उनले सो जानकारी दिएका हुन ।
उनले रुस र युक्रेनका द्धिपक्षीय वार्ता टोलीका तर्फबाट दिनहुँजसो वार्ता भइरहेको बताउँदै तर ठोस निष्कर्ष भने ननिस्किएको जानकारी दिए ।उनले सामाजिक सञ्जालमा लेखेका छन– हामी दिनहुँजसो वार्ता गरिरहेका छौँ, हामीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको एजेण्डाअनुसार वार्ता गरिरहेका छौँ ।
युक्रेनमा करिब तीन हप्ता अघिदेखि रुसले आक्रमण गरिरहेको छ । रुसले उसको शब्दमा युक्रेनमा विशेष सैनिक कारबाही गरिरहेको छ । जसका कारण त्यहाँ कैयौँ नागरिकको ज्यान गएको छ भने युक्रेनका संरचनाहरु पनि ध्वस्त भइरहेका छन् । तर वार्ताबाट कुनै निकास भने निस्किएको छैन ।
रुस युक्रेन द्धन्द्धबाट त्यहाँको जनजीवन अस्तव्यस्त भएको छ । युक्रेनमा रहेका आफ्ना नागरिकलाई प्राय सबै देशहरुले फिर्ता लगिसकेको जनाएका छन् । रुसले युक्रेनमाथिको हमला अझै नरोकेकाले त्यहाँका नागरिकले दिन प्रतिदिन असुरक्षित महसुस गरिरहेका छन् ।





