खेलकुद

उपमेयर कप महिला क्रिकेट : थालिगडा र ग्वाल्लेक सेमिफाइनलमा

८ चैत, बैतडी । बैतडीको दशरथचन्द नगरपालिकामा जारी पाँचौँ संस्करणको उपमेयर कप टि–ट्वान्टी महिला क्रिकेट प्रतियोगिताअन्तर्गत साविक विजेता थालिगडा र ग्वाल्लेक सेमिफाइनलमा प्रवेश गरेका छन् ।

आज सम्पन्न खेलमा दनपा–५ दशरथचन्दलाई ९ विकेटले पाखा लगाउँदै दनपा–६ थालिगडा अन्तिम चारमा प्रवेश गरेको हो । निङ्ग्लाशैनी खेल मैदान देहिमाडौँमा दशरथचन्दले दिएको ४४ रनको झिनो लक्ष्य थालिगडाले ६।३ ओभरमा एक विकेटको क्षतिमा पूरा ग¥यो । उसका लागि दिव्या कार्की र दमयन्ती ओडले अविजित १३÷१३ रन बनाइन् । बलिङतर्फ दशरथचन्दकी निलम टमाटाले एक विकेट लिइन् ।  

त्यसअघि पहिला ब्याटिङ गरेको दशरथचन्दले १६।३ ओभरमा सवै विकेट गुमाएर ४३ रन मात्र बनाउन सक्यो । बलिङतर्फ थालिगडाकी पूजा कार्की र दमयन्ती ओडले २÷२ विकेट हात पारिन् । दमयन्ती वुमन अफ दी म्याच घोषित भएकी स्कोरर द्रोपती कुँवर बोहराले जानकारी दिइन् । दशरथचन्द प्रतियोगिताबाट बाहिरिएको छ ।

यस्तै समूह ‘ए’ बाट ग्वाल्लेक पनि सेमिफाइनल प्रवेश गरेको छ । दशरथचन्द नगरपालिकाको सहयोग र नगरक्रिकेट समितिको आयोजनामा यही चैत ५ गतेदेखि सुरु भएको प्रतियोगितामा सात टोली सहभागी थिए । प्रतियोगिताको उपाधि विजेताले रु ४५ हजार तथा उपविजेताले रु ३० हजार पुरस्कार प्राप्त गर्ने नगर क्रिकेट समितिका संयोजक रमेश भट्टले बताए । नगरपालिकाको वार्षिक कार्यक्रमअनुसार नै हरेक वर्ष मेयर र उपमेयर कप क्रिकेट सञ्चालन गरिँदै आएको छ । यसअघि चौथो संस्करणको उपमेयर कपको उपाधि थालिगडाले नै देहिमाडौँलाई ९ विकेटले हराउँदै जितेको थियो ।