आर्थिक

डिजिटल माध्यमबाट बीमा सर्भेयर तथा बीमा अभिकर्ताको इजाजत पत्र नवीकरणको सुभारम्भ,


८ चैत्र, काठमाडौं । बीमा समिति अन्तर्गत बीमा सर्भेयर तथा बीमा अभिकर्ताको इजाजत पत्र नवीकरण डिजिटल माध्यमबाट हुने गरी सो सेवाको एक औपचारिक समारोहमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट सुभारम्भ भएको छ । यस अन्तर्गत अब समितिलाई गरिने वार्षिक इजाजत पत्र नवीकरणको भुक्तानीका निम्ति काउन्टरमा लाईन बस्नुपर्ने बाध्यताको अन्त्य भएको छ भने अनलाइनबाट नै एनसीएचएलको कनेक्टआइपीएस (www.connectips.com र मोबाईल एप) तथा कर्पोरेटपे प्रणालीहरु मार्फत आफ्नो बैंक/वित्तीय संस्थाको खाताबाट भुक्तानी गर्न सकिने भएको छ ।

विद्युतीय माध्यमबाट नवीकरण शुल्क लगायतका भुक्तानी सम्बन्धी कारोबारहरु नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट गर्न केही समय अघि बीमा समितिले एनसीएचएलसँग नेशनल पेमेन्ट स्वीच (NPS) अन्तर्गतको नेशनल पेमेन्ट इन्टरफेस (NPI) सँग जोडिने सम्झौता भएको थियो ।
उक्त सम्झौता अनुरुप पहिलो चरणमा अभिकर्ता तथा सर्भेयरको इजाजत पत्र नवीकरणको भुक्तानी सेवा अनलाइनबाट गर्न सकिने भएको छ भने, पछिल्लो चरणमा समितिका सेवा शुल्क, बीमा कम्पनी दर्ता तथा वार्षिक नवीकरण शुल्क, बीमा सभेर्यर तथा अभिकर्ता दर्ता, प्रमाणपत्र तथा तालिम शुल्क, तलब, भेण्डर भुक्तानी लगायतका विभिन्न कारोबारहरु बैंक खाताहरुबाट सोझै गर्न सक्ने गरी कार्य अघि बढाइएको छ । एनसीएचएलमा आबद्ध भुक्तानी सेवा प्रदायकका वालेटबाट समेत उक्त भुक्तानी गर्न मिल्ने गरी National Payment Switch अन्तर्गतको बिलर गेटवेमा जोडिने कार्य समेत हुदैछ ।यसले समितिका सम्पूर्ण भुक्तानीहरु पूर्ण स्वचालित रुपमा हुनुका साथै हिसाब मिलान गर्न पनि सजिलो हुने छ ।

अभिकर्ता तथा सर्भेयरको इजाजत पत्र नवीकरण भुक्तानीको लागि प्रयोगकर्ताले कनेक्टआइपीएस (www.connectips.com वा मोबाईल एप) मा लग–इन गरी आफ्नो युजरनेम र पासवर्ड प्रयोग गरी प्रणालीमा रहेको “Government of Nepal” अन्तर्गत “Semi-Government/Sansthan” भित्र “Beema Samiti” छनोट गर्नुपर्ने हुन्छ । त्यस पछी आफ्नो भुक्तानी आवश्यकता अनुरुप “Agent Payment” वा “Surveyor Payment” छनोट गर्ने, भुक्तानी गर्ने आफ्नो बैंक खाता छनोट गरी “Agent Payment” का निम्तीLicence Number, Issue Date, Type of Agent र Issuer Name को विवरण दाखिला गरी आफ्नो Transaction Password/OTP प्रयोग गरी बैंक वित्तीय संस्थाको खाताबाटै सजिलै भुक्तानी गर्न सकिन्छ । त्यसै गरी “Surveyor Payment” का निम्तीSurveyor Code, License Issue Date र Type of Surveyor को विवरण दाखिला गर्नुपर्ने हुन्छ ।CORPORATEPAY प्रणाली प्रयोग गर्ने बीमा कम्पनी वा निकायले समेत आफ्नो युजर लग–इन गरी Real-Time Payment अन्तर्गत Government Payment भित्र Beema Samiti छनोट गरी भुक्तानी गर्न सक्दछन् ।

२०४९ देखि बीमा व्यवसायलाई व्यवस्थित, नियमित, विकास र नियमन गर्दै आइरहेको बीमा समितिको डिजिटलाईजेनको यस कदमले समितिको सेवा प्रवाहमा उल्लेख्य योगदान पुर्याउने विश्वासका साथै यसलाई डिजिटल भुक्तानीको क्षेत्रमा एक महत्वपूर्ण कोषे ढुङ्गाको रुपमा लिइएको छ ।

एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरीएको NPI सञ्चालनमा रहेको छ जसमा हाल ६० सदस्य बैंक वित्तिय संस्थाहरु आबद्ध छन् भने अन्य पिएसपी/ पिएसओ, रेमिटेन्स कम्पनीहरु, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु लगायतका ८७ गैर—बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध छन् । एनसीएचएलले नेपाल सरकारका संस्थानहरु, नियामक निकायहरु लगायतका विभिन्न निकाय तथा संस्थाहरुको डिजिटल भुक्तानीका नीति कार्यान्वयनमा प्रमुख भूमिका खेल्दै आएको छ ।