प्रदेश 1

बाँसबारीमा मदन भण्डारी आँखा अस्पताल सञ्चालन


१२ चैत, उदयपुर । उदयपुरको बोक्से बाँसबारीमा निर्माण गरिएको मदन भण्डारी आँखा अस्पताल बिहीबारदेखि सञ्चालनमा आएको छ । नयाँ आँखा अस्पताल चलेपछि दुई दिनमा २७ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष भागवत राउतले बताए ।

समितिका उपाध्यक्ष कृष्ण भण्डारीले खोटाङ, उदयपुर, सिन्धुलीसहितका बिरामी उपचारका लागि आउने क्रम जारी रहेको र हालसम्ममा २७० जनाले उपचारका लागि नाम दर्ता गराइसकेको बताए। दुई वर्षअघि नै निर्माण सम्पन्न भएको भवनमा नयाँ आधुनिक प्रविधि तथा उपकरणको व्यवस्था गरिएपछि बिरामीको आँखाको शल्यक्रियासहितको सेवा अस्पतालबाट उपलब्ध गराउन सुरु गरिएको हो । भवन निर्माणका लागि त्रियुगा नगरपालिकाले एक बिघा जग्गा उपलब्ध गराएको समितिका सदस्य कुमार घिमिरेले बताए ।

जापानको एक करोड र पूर्वसहरी विकास राज्यमन्त्री मञ्जुकुमारी चौधरी, प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरुसहितले तीन करोडभन्दा बढीको आर्थिक सहयोग गरेपछि  सो भवन बनेको बताइएको छ ।   २०७६ सालमा नै स्वास्थ्य मन्त्रालयको एक करोड सहयोगमा भारत तथा जर्मनबाट आँखा उपचारका लागि आवश्यक उपकरण तथा प्रविधि खरिद गरेर ल्याइएको र दुई वर्षअघि नै अस्पताल सञ्चालन गर्ने योजना रहेको भए पनि कोभिड–१९ को कारण समस्या हुँदै आएको थियो । तत्कालका लागि आँखा अस्पताल सञ्चालन गर्न प्रदेश नं १ सरकार, त्रियुगा नगरपालिकासहित जिल्लाका आठ पालिकाले आर्थिक सहयोग गर्ने सम्झौता भएको समितिका सदस्य महेश्वरी राईले बताए ।