पर्यटन/संस्कृति

कलाकार राष्ट्रका अमूल्य गहना हुन्, संरक्षणका लागि सधैँ सहयोग गर्नेछुः मन्त्री आले

२४ चैत, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कलाकार राष्ट्रका अमूल्य गहना भएको बताएका छन् । आज आरके इन्टरटेनमेन्ट ग्रुपको २२औँ वार्षिक उत्सव समारोहमा उनले कलाकार तथा संस्कृति भनेको राष्ट्र चिनाउने माध्यम भएकाले कला तथा संस्कृति राष्ट्रको अमूल्य गहना भएको बताए । उनले भने, “कला र संस्कृति भनेको राष्ट्र चिनाउने चिज हो, यसको संरक्षणका लागि मैले सधैँ सहयोग गर्नेछु ।”

मन्त्री आलेले कलाकारकै कारण देशमा थुप्रै राम्रा रचनात्मक तथा परिर्वतनकारी काम भएकाले हामीले हाम्रा कलाकार तथा संस्कृतिलाई कहिलै बिर्सिन नहुने बताउनुभयो । उनले कला, संस्कृति संरक्षणका क्षेत्रमा आफूसहित आफ्नो मन्त्रालय सधैँ सकारात्मक रहेकाले आफूहरुले गर्न सक्ने सहयोग गर्ने प्रतिबद्धतासमेत जाहेर गरे। उनले भने, “समाज परिवर्तनको अग्रतामा अहिले कलाकारिता क्षेत्र लागि रहेकाले मैले के सहयोग गर्नु पर्छ भन्नु होला, मसहित मेरो मन्त्रालय सहयोग गर्न तयार छ ।” उक्त वार्षिक उत्सव समारोहमा कोभिड तथा अन्य विशेष क्षेत्रमा योगदान पु¥याएको भन्दै २० राष्ट्रिय कलाकारलाई सम्मानित गरिएको थियो ।