मनोरञ्जन

‘राष्ट्रिय लोक दोहोरी महोत्सव–२०७८’ शुरु


२६ चैत, काठमाडौं । आजदेखि काठमाडौंको टुँडिखेलमा ‘राष्ट्रिय लोक दोहोरी महोत्सव–२०७८’ शुरु हुने भएको छ । डिएआर मुभिज एण्ड फिल्मस् ईण्डष्ट्रिजको आयोजनामा पाँच दिनसम्म चल्ने उक्त महोत्सव आज बिहान ११ बजे बबरमहलदेखि देशभरबाट उपस्थित ४३ समूहबाट विभिन्न जात–जातिहरुको संस्कृति झल्कने झाँकी प्रदर्शनीसहितको र्याली शुरु भई टुँडिखेलमा पुगेर १ बजे महोत्सवको उद्घाटन उपराष्ट्रपति नन्द बहादुर पुन ‘पासाङ’ले गर्ने आयोजक संस्थाका निर्देशक श्याम धितालले जानकारी दिए ।
टुबोर्गको प्रस्तुती एवं बागेश्वरी खड्का हाउजिङ डेभलपर्सको मुख्य प्रायोजनमा हुन लागेको महोत्सवमा हुने खुल्ला दोहोरी प्रतियोगीतामा विभिन्न जिल्लाका ७३ समूहबीच प्रतिस्पर्धा हुनेछ । खुला दोहोरी प्रतियोगीतामध्येकै पहिलो ठूलो पुरस्कार राशीको प्रतियोगीता रहेको आयोजकको भनाई छ । प्रतियोगीतामा प्रथम हुने समूहलाई ५ लाख रुपैयाँसहित अन्य पुरस्कार प्रदान गरिनेछ । त्यस्तै, द्वितीय, तृतिय र सान्त्वना हुने समूहलाई क्रमशः तीन लाख, दुई लाख र एक लाख रुपैयाँसहित अन्य पुरस्कार प्रदान गरिनेछ ।
खुल्ला लोक दोहोरी प्रतियोगीतामा ख्यातीप्राप्त गायक–गायिकाहरु पुरुषोत्तम न्यौपाने, घमेश दुलाल, हरी थापा, सीता थापा, रीता थापा, कमलीकान्त भेटवाल र शिव हमाल निर्णायकका रुपमा रहेका छन् । त्यस्तै, गायक–गायिकाहरु अमृत खाती, मिना मैया थापा, भिमसेन खतिवडा, सरोज लामिछाने, रविन लामिछाने, कल्पना दाहाल र राम कुमार नेपाली सम्मिलित निर्णायक मण्डलमा रहने छन । महोत्सवमा उत्कृष्ट गायक–गायिकालाई २५ हजार नगद पुरस्कार एवं २० हजार राशीको नव–प्रतिभा पुरस्कार समेत प्रदान गरिनेछ । महोत्सवमा विभिन्न विधाका चर्चित कलाकारहरूको दैनिक प्रस्तुती रहनेछ । विभिन्न स्रष्टा सर्जकलाई सम्मान गरिने साथै निःशुल्क स्वास्थ्य परीक्षणको समेत व्यवस्था गरिएको महोत्सवमा प्रवेश निःशुल्क गरिएको छ । महोत्सवले नेपाली लोक गीत संगीतको जगेर्ना गर्ने आयोजक संस्थाको विश्वास छ ।