खेलकुद

कुस्तीमा सिंहलाई स्वर्ण


२६ चैत, महेन्द्रनगर । कञ्चनपुरकी कुस्ती खेलाडी मनिषा सिंहले बाँकेमा आयोजित राष्ट्रिय महिला तथा पुरुष कुस्ती प्रतियोगितामा स्वर्ण जितेकी छिन् । बाँके कुस्ती सङ्घले आयोजना गरेको उक्त प्रतियोगिताको फाइनलमा ५५ किलोतौल समूहमा लुम्बिनी प्रदेशकी सिर्जना चन्दलाई पराजित गर्दै सिंहले स्वर्ण जितेकी हुन् ।

यसअघि १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) मा सिंहले कुस्तीमा कास्य पदक जितेकी थिइन् । कञ्चनपुरका कुस्ती प्रशिक्षक राजेन्द्र चन्दले बाँकेको डुडुवा गाउँपालिकामा आयोजित राष्ट्रिय कुस्तीमा सुदूरपश्चिमका खेलाडीले एक स्वर्णसहित पदक जितेको बताए ।

“दुई वटा महिला र दुई पुरुष तौल समूहमा मात्रै खेलाडीलाई सहभागी गराइएको थियो”, उनले भने, “हरेक राष्ट्रिय प्रतियोगितामा हामीले स्वर्ण नजितेको इतिहास छैन ।” त्यसैगरी उक्त प्रतियोगितामा ६५ किलोतौल समूहमा लक्ष्मी भट्टले रजत र विमला सुनारले कास्य जितेका छन् । पुरुषतर्फ ८६ किलोतौल समूहमा कृष्ण यादवले रजत पदक दिलाएको प्रशिक्षक चन्दले बताए । प्रतियोगितामा सात प्रदेश र दुई विभागीय टिम सहभागी थिए ।

नौ वटा जिल्ला रहेको सुदूरपश्चिम प्रदेशमा कञ्चनपुरको महेन्द्रनगरमा मात्रै कुस्तीको प्रशिक्षण हुन्छ । नेपाली कुस्ती इतिहासमै पहिलो पटक खेलाडी सङ्गीता धामीले १३औँ सागमा पहिलो स्वर्ण दिएकी थिइन् ।