आर्थिक

अर्थतन्त्रमा सङ्कट छैन, अनावश्यक हल्ला नगरौँ: अर्थमन्त्री


२८ चैत, काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रमा कुनै पनि सङ्कट नआएको बताएका छन् । अर्थमन्त्रीले भने, “हालसम्म उपलब्ध विवरणका आधारमा पनि अर्थतन्त्रमा ठूलो सङ्कट आएको छैन ।”

अर्थ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले अर्थतन्त्रलाई नियमित गतिमा चल्न दिनुपर्ने बताए। उनले व्यवसायी र जनतालाई हतोत्साही बनाउने गरी प्रचार भइरहेको भन्दै त्यस्तो नगर्न आग्रह गरे ।

अर्थतन्त्रलाई नियमति बनाउन सरकार सतर्क भएर लागिपरेको उनको भनाइ छ । मुलुकको पछिल्लो आर्थिक अवस्थाबारे जानकारी दिने उद्देश्यले आज पत्रकार सम्मेलनको आयोजना गरिएको अर्थसचिव मधुकुमार मरासिनीले जानकारी दिए।

अर्थमन्त्री जनार्दन शर्माले कानुन सम्मत् तरिकाले नै नेपाल राष्ट्र बैंकका गभर्नरमाथि छानबिन गरिएको बताए । उनले राष्ट्र बैंक ऐनअनुसार नै गभर्नरमाथि छानबिनको प्रक्रिया अगाडि बढाइएको बताए ।

छानबिनका लागि समिति गठन भइसकेकाले सोही समितिले दिने रिपोर्टका आधारमा थप निर्णय हुने उल्लेख गरे। गत बिहिबारको मन्त्रिपरिषद्को बैठकले गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्ने निर्णय गरेको थियो । गभर्नरमाथि छानबिन समिति गठन भएपछि स्वतः निलम्बन हुने व्यवस्था छ ।

छानबिन समिति गठन भएकाले यस विषयमा थप टिप्पणी गर्नु आवश्यक नभएको उनको भनाइ छ । निक्षेपको तुलनामा कर्जा विस्तार बढी भए पनि त्यसले अर्थतन्त्रमा गुणस्तरीय प्रतिफल प्राप्त नभएको अर्थमन्त्रीको भनाइ छ । आफूले मन्त्रालय र मन्त्रालय मातहतका कुनै पनि निकायमा हस्तक्षेप नगरेको बरु नेतृत्व प्रदान गरेको उनको भनाइ छ ।