पर्यटन/संस्कृति

चुँदीलाई सप्तधामका रूपमा विकास गरिनुपर्छ : वरिष्ठ नेता पौडेल


३० चैत, तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घालाई नेपालका सातै प्रदेशको प्रतिनिधित्व हुने गरी सप्तधाम निर्माण गर्नुपर्ने बताएका छन ।

भानु साहित्य उद्यानको आज दमौलीमा आयोजित प्रारम्भिक गुरुयोजनाको प्रस्तुतीकरण कार्यक्रममा बोल्दै नेता पौडेलले सो कुरा बताएका हुन । जानकीधाम, पशुपतिधाम, लुम्बिनी, मुक्तिनाथ धामलगायतका सातवटै प्रदेशको धाम त्यस क्षेत्रमा राखेर राष्ट्रिय एकताको भावनात्मक केन्द्रका रूपमा स्थापना गर्नुपर्नेमा उनले जोड दिए ।

आदिकवि भानुभक्तले लेखेको रामयणको भाषाले भावनात्मकरूपमा नेपालीलाई एकीकरण गराउन महत्वपूर्ण योगदान रहेको उनले बताए । पृथ्वीनारायण शाहले तरबारको भरमा नेपालको एकीकरण गरे त्यसरी नै भानुभक्तले रामयण लेखेर एकीकरणको सूत्रमा बाँधेको उनले बताए ।

भाषागतरूपमा हिमालबाट तराईसम्म र मेचीबाट महाकालीसम्मका नेपालीलाई एउटै भाषामा कामकाज गर्ने राष्ट्रिय नेपाली भाषामा रुपान्तरण गरेको बताए ।

उक्त क्षेत्रमा नेपाली भाषाको मात्रै नभई सबै जातजातिका भाषा, साहित्यको संरक्षण केन्द्रका रूपमा विकास गर्दै लैजाने योजना रहेको छ । उनले भने “त्यस क्षेत्रलाई साहित्यिक पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गरिनुपर्छ ।”

विश्वमा जहाँ नेपाली भए पनि एकपटक आउनैपर्ने मक्कामदिना जस्तो बनाइनुपर्ने उनले बताए । भाषा, साहित्य, संस्कृतिको संरक्षण, राष्ट्रियता र पर्यटन क्षेत्रको संरक्षण र संवद्र्धन गर्ने लक्ष्य राखिएको छ ।

भानु साहित्य उद्यानका सचिव वरिष्ठ इञ्जीनियर कर्णबहादुर रानाभाटले भानु जन्मथलो र भानुले स्पर्श गरेका स्थानलाई साहित्यिक तीर्थस्थल र सांस्कृतिक एकताको केन्द्रका रूपमा विकास गर्ने योजनाअनुरुप गुरुयोजना बनाइएको बताए ।

चुँदी रम्घाकोटमा भानुभक्तको विशाल प्रतिमा निर्माण गर्ने, भानुभक्तका कृतित्वलाई जीवन्तता दिन, भानुभक्तका कृति, योगदान एवं नेपाली भाषा, साहित्यको अध्ययनका लागि पुस्तकालय स्थापना गर्ने, भानुक्त बसेका, घुमेका र कवितामा वर्णन गरेका स्थानलाई जोड्ने गरी भानु परिक्रम मार्गको विकास गर्ने योजना रहेको उद्यानका अध्यक्ष जयराम आचार्यले जानकारी दिए ।