पर्यटन/संस्कृति

टुँडालदेवीमा ‘बैष्णवी टुँडालदेवी माताको जात्रा’ हुने

१ वैशाख, काठमाण्डौ । धार्मिक, ऐतिहासिक एवं पुरातात्विक महत्व बोकेको वालुवाटारस्थित टुँडालदेवी मन्दिर परिसरमा बैष्णवी टुँडालदेवी माताको जात्रा लाग्ने भएको छ ।

काठमाडौँ महानगरपालिका–४ वालुवाटारस्थित लिच्छविकालीन मन्दिर टुँडालदेवीमा चैत शुक्ल पूर्णिमाका दिन यही वैशाख ३ गते बैष्णवी टुँडालदेवी माताको जात्रा लाग्ने भएको हो । लिच्छविकालीन राजा मानदेवको हजुरबुवा रामदेवको पालामा स्थापना भएको उक्त मन्दिर परिसरमा परम्परादेखि नै जात्रा लाग्दै आएको मन्दिरका पुजारी रामबाबु पुजारीले जानकारी दिए ।

बडादशैँको नवरात्रिमा नवरात्रि पूजा हुँदै आएको उक्त मन्दिरमा  चैतेदशैँमा दुर्गा पूजासमेत हुँदै आएको छ । यसबाहेक हरेक पूर्णिमामा पूजा हुने गरेको पुजारीले बताए । नेवार समुदायको आस्थाको केन्द्रका रूपमा रहेको टुँडालदेवी मन्दिरमा तान्त्रिक पूजासमेत हुँदै आएको छ ।

चैत अष्टमीको दिनमा हाँडिगाउँमा लिङ्गो खडा भएपछि वैष्णवी टुँडालदेवीको जात्रा सुरु हुने धार्मिक विश्वास छ । यस्तै, सोही स्थानमा चैत शुक्ल एकादशीको दिनमा घाँसे जात्रा, चैत शुक्ल द्वादशीको दिनमा तेल घस्ने जात्रा, चैत शुक्ल त्रियोदशीका दिनमा राँगा काट्ने जात्रा, चैत शुक्ल चतुदर्शीको दिनमा भाटभटेनी माईलाई टुँडालदेवी ल्याउने जात्रा लाग्छ ।

चैत शुक्ल चतुदर्शीको मध्यरातमा नक्साल भाटभटेनीबाट महालक्ष्मी (मानेखट) र हाँडिगाउँबाट टुँडालदेवीको रथयात्रा गर्दै मन्दिरमा मूर्तिलाई स्थापित गर्दै थान पूजा गर्ने चलन छ ।

चैत शुक्ल पूर्णिमाको दिन वैष्णवी जात्रा लाग्ने भएकाले नक्साल र हाँडीगाउँबाट ल्याएको मूर्तिलाई पूर्णीमाको दिनमा पूजा गरेर पुनः हाँडीगाउँ लैजाने चलन छ । यस्तै, पूर्णिमाकै मध्यरातमा भाटभटेनी माईलाई पनि फिर्ता गर्ने चलन छ । टुँडालदेवी मन्दिरमा लाग्ने वैष्णवी जात्राको सुरक्षा भने सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवीले मिलाएको छ । केन्द्रका प्रमुख, प्रहरी सहायक निरीक्षक कल्पना थापा धमलाले मन्दिर परिसरमा मनाइँदै आइएको हरेक चाडपर्व र जात्राको सुरक्षा सामुदायिक प्रहरी सेवा केन्द्रले गर्दै आएको बताए ।

वि स। २०७२ वैशाख १२ गते गएको भूकम्पबाट टुँडालदेवी मन्दिरमा क्षति पुगेको थियो । भूकम्पबाट मन्दिरको केही भाग चर्किएको थियो भने अन्य संरचनामा समेत क्षति पुगेको थियो । पुरातत्व विभागको झण्डै रु दुई करोड सहयोगमा २०७५ सालमा मन्दिर पुनःनिर्माण गरिएको हो । 

टुँडालदेवी मन्दिर परिसरमा साधना केन्द्र, प्राथमिक स्वास्थ्य केन्द्र, क्रियापुत्री भवन, जीम क्लब, सामुदायिक हल, सामुदायिक प्रहरी सेवा केन्द्र, सामुदायिक सेवा केन्द्र, टुँडालदेवी अक्षय कोषलगायत छन् । विसं २०४९ देखि किरीयापुत्री भवन सञ्चालनमा आएको सामुदायिक सेवा केन्द्रका अध्यक्ष रामप्रसाद न्यौपानेले जानकारी दिए । “पशुपतिमा किरियापुत्री बस्न ठाउँ अभाव भए टुँडालदेवीमा बस्ने गरेका छन्”, उनले भने ।