४ वैशाख, काठमाडौँ । रूद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठानले श्रीप्रसाद ओली स्मृति प्रज्ञान पुरस्कार नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालयशम्शेर जवरालाई प्रदान गरेको छ ।
अर्थ सचिवसमेत रहनुभएका राणाले मुलुकको अर्थ व्यवस्थाको संस्थागत सुधारमा योगदान पु¥याएबापत उनलाई उक्त पुरस्कारबाट सम्मानित गरिएको हो । सो पुरस्कारको राशि रु पाँच लाख रहेको छ । प्रतिष्ठानले स्थापना गरेको अक्षयकोषबाट हरेक दुई वर्षमा सो पुरस्कार प्रदान गरिँदै आएको छ ।
प्रतिष्ठानद्वारा यहाँ आज आयोजित समारोहमा पूर्वप्रधानमन्त्री एवं वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दले देशको अर्थतन्त्रलाई आधुनिकीकरण गर्न राणाले महत्वपूर्ण भूमिका निर्वाह गरेकामा खुसी व्यक्त गरे । उनले मानव हित तथा सकारात्मक सामाजिक विकासका क्षेत्रमा सबैले योगदान गर्नुपर्नेमा जोड दिए ।
सो अवसरमा पुरस्कृत राणाले मुलुकको पहिलो बजेट करिब रु तीन करोडको सार्वजनिक भएको जानकारी दिँदै विराटनगर, जनकपुर, वीरगञ्ज, तौलिहवा र भैरहवामा भन्सार अड्डा स्थापना गरिएको बताए । उनले पुरस्कारबाट प्राप्त रकमलाई अक्षयकोष स्थापना गरी त्यसको ब्याजको ७५ प्रतिशत स्नातकोत्तर तहमा मौद्रिक नीति विषयमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गर्ने र बाँकी २५ प्रतिशतबाट कोष अभिवृद्धि गर्ने घोषणा गरे ।
विगत नौ वर्षदेखि प्रदान गरिँदै आएको रु एक लाख एक हजार १११ राशिको रुद्रप्रसाद ओली राष्ट्रिय कृषि पुरस्कार कृषि विज्ञ मदन राईको नेतृत्वमा स्थापित ललितपुरस्थित ‘सुभद्रा–मदन फाउन्डेशन’ र काठमाडौँस्थित ‘चन्द्रागिरि मेशिनरी उद्योग’का सञ्चालक गोविन्दभक्त श्रेष्ठलाई संयुक्त रुपमा प्रदान गरिएको छ ।
त्यसैगरी रु एक लाख एक हजार १११ राशिको गौरादेवी स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार अपाङ्गता भएका व्यक्ति युवती खड्का केसीलाई र सोही राशिको अम्बिका ओली स्मृति राष्ट्रिय साहित्य तथा पत्रकारिता पुरस्कार नेपाली साहित्यको विकासमा क्रियाशील साहित्यकार विवश पोखरेललाई प्रदान गरिएको छ । प्रतिष्ठानका अध्यक्ष गङ्गाप्रसाद ओलीको सभापतित्वमा भएको कार्यक्रममा पूर्वमन्त्री भद्रकुमारी घले, वरिष्ठ पत्रकार भैरव रिसाल, काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति प्रा डा सुरेशराज शर्मा, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङलगायतले आ–आफ्नो धारणा राखेका थिए ।





