प्रदेश 2

विकास विरोधी मेयरले वीरगञ्जलाई बर्बाद गरे: राजेशमान सिंह


११ वैशाख, वीरगञ्ज । जनता समाजवादी पार्टी नेपालबाट वीरगञ्ज महानगरपालिकाको लागि मेयर पदका उम्मेदवार राजेशमान सिंहले विकास विरोधीहरुलाई जनताले चिन्न आवश्यक रहेको बताएका छन् ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ को इनर्वा गाउँमा शनिबार आयोजित रात्रीसभालाई सम्बोधन गर्दै नेता सिंहले पाँच वर्षसम्म महानगरको मेयर बनेरपनि विकास नगर्ने विकास विरोधीहरुलाई जनताले चिन्न आवश्यक रहेको बताएका हुन् ।

सिंहले वीरगञ्जको विकासका लागि महानगरसँग पर्याप्त स्रोत, साधन र अर्थ हुँदाहुँदै पनि निर्वाचित मेयरले आफ्नो व्यक्तिगत स्वार्थ र कमिसनको चक्करमा एउटा ठूलो अवसर गुमाएको बताए । भ्रष्टचारी मार्फत पैसा कमाउने चक्करमा मेयरले आएको विकास बजेट पनि फ्रिज गरेर पठाएको र महानगरका हरेक शाखालाई कमिसनको आखाडा बनाएको सिंहको भनाई थियो ।

त्यसैगरी कार्यक्रममा बोल्दै सङ्घीय सांसद् प्रदीप यादवले अघिल्लो पटक विजय सरावगी जस्ता व्यक्तिलाई आफूहरुले मेयरमा निर्वाचित गराएर ठूलो भूलो गरेको बताए । यादवले आफूहरुबाट भएको भूलोलाई सच्याउन जसपाले यस पटक विकास प्रेमी र जनताले मन पराउने राजेशमान सिंहलाई मेयरको उम्मेदवारका रुपमा अगाडि सारेको बताए ।

वडा नम्बर १६ का वडा अध्यक्ष उम्मेदवार परसुराम चौरसियाको सभापतित्वमा भएको कार्यक्रममा जसपाका नेता प्रेमबाबु पटेल, मुकेश द्विवेदी लगायतले आफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रममा उपस्थित सहभागीहरुले अब छाता छापमा मात्र मतदान गरेर जसपाका सम्पूर्ण उम्मेदवारहरुलाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका थिए ।