१६ वैशाख, तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–३ डाँडाखुट्टीका तेजबहादुर केसी कुनै समय विदेशमा चर्को घाममा मजदुरी गथ्र्यो । विदेशमा उनको पसिना त्यसै खेर गइरहेको थियो । पसिना आफ्नै देशमा बगाउने अठोटले घर फर्किएका केसी पछिल्लो समय गाईपालनमा रमाएको छ । उनको आफ्नै गाईफार्म छ ।
केसी दिनभर गाईको गोबर सोहर्छ । गाईलाई दाना–घाँस खुवाए । साँझ बिहान भने उनी गाईको दूध दुहुनुका साथै बजारमा बेच्न निस्किए। बाह्र वर्ष विदेश बसेर नेपाल फर्केपछि थालेको यो कामले केसीलाई आत्मसन्तुष्टि र इज्जत मिलेको छ । आम्दानी पनि उत्तिकै छ ।
केसी रोजगारकै सिलसिलामा तीन वर्ष मलेसिया, ६ वर्ष युनाईटेड अरब इमिरेटस्को दुबई र तीन वर्ष साउदी अरबमा बसे । “यति मेहनत नेपालमै गरे आफ्नै ठाउँमा आम्दानी गर्न सकिन्छ भनेर विदेशबाट फर्किए”, उनले भने । केसीले २०७४ सालदेखि व्यावसायिकरुपमा गाईपालन गर्न थालेको हो । उनले विदेशमा कमाउने पैसा यही गाईपालनबाट कमाउन सफल भएको छ । “मेहनत गरे नेपालमै मनग्य आम्दानी गर्न सकिँदो रहेछ, पसिना आफ्नै देशमा बगाउनुपर्दो रहेछ”, उनले भने, “अब विदेश जाने सोचै छैन ।”
केसीले अहिले मासिक करिब रु एक लाख २० हजार बराबरको कारोबार गर्दै छन्। सबै खर्च कटाएर रु ५० हजारदेखि रु ८० हजारसम्म नाफा हुने गरेको उनले बताए। घर परिवारसँग पनि छुट्नु नपर्ने र आम्दानी हुने भएपछि यो पेसाबाट निकै सन्तुष्ट भएको उनले बताए। केसीले स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको तुलसीपुर शाखाबाट ऋण लिएर गाईपालन सुरु गरेका हुन्। अहिलेसम्म उनले उक्त संस्थाबाट रु पाँच लाखसम्म ऋण लिइसकेको छ । हाल १८ गाई पाल्दैआएकामा सात गाईले दूध दिन्छन् । त्यही दूध नै उनको आम्दानीको स्रोत हो । दैनिक ७० लिटरसम्म दूध उत्पादन हुन्छ । केसीले होलिस्टेन र जर्सी जातका गाई पालेको छ ।
व्यवसायमा रु ३५ लाखको हाराहारीमा लगानी भएको छ उनले त्यो लगानी उठाइसकेको छ । लगानी उठेर चार कट्ठा जग्गा किनेको बेसीले बताए । उनले रु १० हजार तलब दिएर एक कर्मचारीसमेत राखेको छ। दूध बिक्री गर्न बजारीकरणको समस्या छैन । “किसानलाई सरकारले कम्तीमा सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउनुपर्छ”, केसीले भने । उनले चितवनबाट एउटा गाई रु ८० हजारमा खरिद गरेर ल्याएको हो ।
केसी गाईपालनमा मात्र होइन् बाख्रापालनमा पनि लाग्नु भएको छ । हाल उनको खोरमा २६ बाख्रा छन् । बाख्राबाट वार्षिक रु एक लाखसम्म आम्दानी हुने गरेको उनले बताए । यसलाई अझै व्यवस्थित बनाएर लैजाने केसीको योजना छ । उनको यो व्यवसायबाट परिवार पनि खुसी छ । “श्रीमान् विदेश हुँदा घरमा एक्लै हुनुपथ्र्यो”, श्रीमती सरिताले भनिन्, “अहिले परिवारमा सँगै छौँ, घर चलाउन पनि सजिलो भएको छ ।”