प्रदेश 2

आगलागीपीडित परिवारलाई गाँसबासको समस्या


१६ बैशाख, सर्लाही । सर्लाहीको धनकौलमा केही साताअघि भएको आगलागीका पीडित परिवारलाई गाँसबासको समस्या भएको छ  । धनकौल गाउँपालिका–५ हरकठवाका १३ विपन्न पासवान समुदायको परिवारमा दैजिक गुजारा र सुृरक्षित बासको समस्या परेको हो ।
देशव्यापी स्थानीय निकायको निर्वाचनको चहलपहल चलिरहँदा आगलागीबाट घरविहीन भएका परिवारप्रति कसैको चासो पुगेको देखिँदैन । आगलागीबाट घर–बास गुमाएका पासवान परिवार त्रिपालमुनी रात बिताउन बाध्य भएका छन् । जिल्लास्थित राजनैतिक दलहरु तथा तीनका कुनै पनि नेताहरुको ध्यान पुगेको छैन । राष्ट्रिय तथा अन्र्तराष्ट्रिय गैर सरकारी संस्थाहरुले केही खाद्यान्न र गाउँपालिकाले दिएको एक थान त्रिपालको भरमा गुजारा चलाउनुपरेको आगलागी पीडितको गुनासो छ ।
दैनिक ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका आफुहरु आगलागीपछि खुला आकासमुनि आइपुगेको स्थानीय रवि पासवनाले बताए । उनका अनुसार हरकठवाका १३ विपन्न पासवान परिवारको बिचल्ली अवस्था रहेको छ । आफूसँग भएका अन्नपात, लत्ताकपडा र फुसका झुपडी जलेर खरानी भएपछि दैनिकी चलाउनसमेत मुस्किल परिरहेको पीडित लीलावती देवी पासवानले गुनासो गरे ।
त्रिपाल टाँगेर बस्दै आएका उनीहरू बर्खायाम सुरुहुन लागेकाले थप चिन्तित बनेका छन् । “घर खरानी भयो” पीडित लीलावतीले भने, “हामी दैनिक ज्याला मजदुरी गरेर जसोतसो परिवार पालिरहेका छौँ । अब कसरी घर बनाउनु रु बर्षातको समय आउन लाग्यो । यसरी त्रिपालमुनी लालाबाला कसरी जोगाउनु ?”
देशभर निर्वाचनको चहलपहल सुरु भएको अवस्थामा आफुहरुलाई बिहान बेलुका के खाने चिन्ता भएको पीडितको गुनासो छ । गगनदेव पासवानले “नेता फेरी भोट माग्न आउने होलान्, आफुहरुको दुःखमा कोही आएनन्, अब भोट किन दिनु लाग्न थालिसक्यो ।” उनीहरुलाई बर्षात्को समय आउन लागेकाले परिवारलाई कसरी जोगाउने भन्ने चिन्ता बढ्दै गएको छ ।
पालमुनि बसेर दैनिकी कटाउन मुस्किल परेको आगलागीपीडितको गुनासो छ । आगलागीबाट प्रदीप पासवान, रामवली पासवान, जवाहिर पासवान, शीतल पासवान, बिकाउ पासवान, जितन पासवान, रामविश्वास पासवान, गगनदेव पासवान, नन्दकिशोर पासवान, सरफलाल पासवान, राकेश साह, रामनाथ पासवान र मचिन्दर पासवानको घर पूर्णरूपमा जलेर नष्ट भएको धनकौल ५ का वडाध्यक्ष गजेन्द्र महतोले जानकारी दिए ।
अग्निपीडिका सामू दैनिक गुजारा चलाउनेदेखि पुनर्बासको ठूलो समस्या देखिएको र गाउँपालिकाले खाद्यान्न तथा त्रिपाल वितरण सहयोग गरिसकेकाले थप सहयोग गर्न नसकिने धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साहले बताए । उनका अनुसार गाउँपालिकाले आगलागीबाट घरबारविहीन भएका परिवारलाई प्रतिपरिवार २५ किलो चामल, दाल, चिउरा, तेल, ग्यास सिलिन्डर र चुलो तथा केही भाँडा सहयोग गरेको छ । “उनीहरूलाई तत्कालका लागि कम्बल र त्रिपालसमेत वितरण गरिसकेका छौँ” साहले भने। उनले घरखर्चवापत प्रति परिवार रु ५ हजारका दरले नगदसमेत दिएको बताए ।
गाउँपालिकासँग विपद् व्यावस्थापन कोषमा धेरै रकम नभएकाले थप सहयोग गर्न असमर्थ रहेको साहले बताए । आगलागी पीडितहरूको दीर्घकालीन व्यवस्थापनमा पालिका आफैँ लाग्नुपर्ने सर्लाहीका प्रमुख जिल्ला अधिकारी एवम विपद् व्यवस्थापन समितिका संयोजक थानेश्वर गौतमले बताए। “जिल्लास्थित ब्यवस्थापन समितिसँग उनीहरूलाई घरबास व्यवस्थापन, सुरक्षित गर्ने योजना र बजेट हुँदैन, गाउँपालिका आफैँ सरकार हो, उसले ब्यवस्थापन गर्नुपर्छ” उनले भने ।
उनका अनुसार अन्य दातृ संघ/संस्थासँगको सहयोगमा खाद्यान्न, लत्ताकपडासमेत वितरण गरिएको छ । बर्षातको समय सुरुहुन लागेकाले आगलागी पीडितलाई समयमै सुरक्षित आवासमा फर्काउन स्थानीय सरकारलेनै पहल गर्नुपर्ने प्रजिअ गौतमले बताए।