पर्यटन/संस्कृति

गोकर्णमा मध्यरातमा सुरु भयो मानदेवकालीन कान्तिभैरव जात्रा

१७ वैशाख, काठमाडौँ । राजा मानदेवले चलाई हालसम्म निरन्तर चलेको ऐतिहासिक, सांस्कृतिक र धार्मिक कान्तिभैरव जात्रा शुक्रबार मध्यरातदेखि गोकर्णेश्वर क्षेत्रमा सुरु भएको छ । वैशाख कृष्ण चतुर्दशीका दिन स्थानीयवासीले आ–आफ्ना घर आँगनमा सरसफाइ गरेपछि मध्यरातमा कान्तिभैरवको जात्रा सुरु हुने परम्परा छ । चतुर्दशीका दिन स्थानीयवासीले आफ्नो टोल र छरछिमेक सफाइ गरेपछि मध्यरातदेखि वैशाख शुक्ल तृतीयाअर्थात् अक्षय तृतीयाका दिनसम्म कान्तिभैरवको मुख्य जात्रा लाग्छ ।

वैशाखकृष्ण आमावास्याका दिन स्थानीय डबलीमा आमाछोरी र सासु बुहारीले संयुुक्तरुपमा सहभागी भएर सिन्दूर जात्रा हेर्नुपर्दछ भन्ने जनविश्वास छ । यसलाई कान्तिभैरवको सिन्दूर जात्रा पनि भन्ने गरिएको स्थानीयवासी एवं साविकको गोकर्णेश्वर गाविसका पूर्वउपाध्यक्ष राधाकृष्ण श्रेष्ठले बताए ।

“यो दिन प्रत्येक व्यक्तिका लागि आमाप्रति श्रद्धा भक्तिसाथ सम्मान प्रकट गरी मीठो मसिनो खुवाउने दिन भएकाले कान्तिभैरव जात्रालाई पनि आमाप्रतिको सम्मानकै रुपमा लिन्छौँ”, कान्तिभैरवको गुठियारसमेत रहेका उनले भने ।



जात्राका अवसरमा श्रीभैरव, श्रीकुमारी र श्रीगणेशको मूर्तिलाई आकर्षकरुपमा सिङ्गारिएको तीनतले खटमा विराजमान गराइन्छ । तीनवटा रथलाई धार्मिक विधिपूर्वक बाजा, गीत र नाचका साथ टोल परिक्रमा गराइन्छ । परिक्रमा गराउने क्रममा प्रत्येक चोक, दोबाटो र घर आँगनमा स्थानीयवासीले उत्साहसाथ श्रद्धाभाव अर्पण गर्दछन् ।

चतुर्दशीका दिन बिहान गुठियार थकालीले तामाको सानो गणेश मूर्तिलाई ढक्कीमा राखी गुप्तिगणेशमा लगी राख्छन् । गुप्तिगणेशलाई दिनभर स्थानीयवासीले पूजा गर्दछन् । साँझमा गणेशको मूर्तिलाई परम्परागत बाजागाजासहित रथारोहण गरी गोकर्णेश्वरको ऐतिहासिक प्रमुख पुरानो बस्ती गोकर्ण देशेको बीचमा लगी बिसाइन्छ ।

यसपछि ऐतिहासिक गोकर्ण देशेको भैरव मन्दिरबाट भैरवको मूर्ति निकालिन्छ । निकालिएको मूर्तिलाई गुठियारका थकालीबाट बलि चढाइ पूजा गरिन्छ । स्वर्णमय झण्डा र गजूरसहितको सिंहासनलाई तीनपटक मन्दिरको परिक्रमा गराइन्छ । सिङ्गारिएको तीनतले रथमा भैरवको मूर्तिलाई आरोहण गराइन्छ । यस अवसरमा बाजा बजाई हर्षबढाइँ गरिन्छ र रथलाई गोकर्णेश्वर क्षेत्रका टोलटोलमा घुमाइन्छ ।

भातको देवताअर्थात् भाते द्यौलाई कान्ति भैरवको सौगात मानिन्छ । तीन स्थानमा व्रत बसेका तीन जना गुठियारले एक/एक पाथीे भातको देवता बनाउँछन् । पाक्तापाक्तैको भातलाई झिकेर गुठियार थकालीले भातको मूर्ति बनाउनुपर्ने धार्मिक विधि छ । भातको अग्लो मूर्तिलाई दुईजनाले बोकेर तुलजा भवानीको मन्दिरमा लैजाने परम्परा रहेको स्थानीय रामजी श्रेष्ठले बताए ।

मन्दिरमा भातको देवता लिन जात्रालु रथसहित जाने गर्दछन् । रथलाई तुलजा भवानीको परिक्रमा गराएपछि भातको देवता बोकी जात्रालुको जमात उत्तरबाहिनीस्थित भैरवी मन्दिरतिर लाग्दछन् । जात्रामा बाजा बजाउने, रथ बोक्ने, चिराग बोक्ने, सुकुन्दा बोक्ने र भातको देवता बोक्नेलगायतका काममा जात्रालुको भीड लाग्ने गरेको डेढ दशकअघिदेखि जात्रा हेर्दै आएकी सपना श्रेष्ठले बताए । 

उत्तरबाहिनी कान्तिभैरव मन्दिर प्राङ्गणमा भाते देवतासहित भैरवको रथ पु¥याएपछि तीनपटक मन्दिर परिक्रमा गराइन्छ । रथलाई मन्दिरको ३२ पटक परिक्रमा गराएर मात्र बिसाउनुपर्ने धार्मिक विश्वास छ । रथ बिसाएपछि भैरवको  प्रसाद लिन सहभागीबीचमा तछाडमछाड हुने गर्दछ । पहिलोपटक प्रसाद पाउने मानिस निकै भाग्यमानी हुने धार्मिक विश्वास छ ।