प्रदेश 2

धनुषामा १०९ को उम्मेदवारी फिर्ता

१७ वैशाख, जनकपुर । आसन्न स्थानीय तह निर्वाचनका लागि धनुषाको विभिन्न पालिकामा दिएका १०९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।

यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएका वैधनाथ साह र नन्दकुमार भगत, उपप्रमुखमा उम्मेदवारी दिएका विश्वनाथ साहले आफ्नो उम्मेदवारी फिर्ता लिएका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए ।  

जनकपुरधाम उपमहानगरपालिकाको विभिन्न वडाको वडाध्यक्ष पदमा ११, एक वडासदस्य पदका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको जनाइएको छ । यस्तै धनुषाको मिथिला नगरपालिकामा नगरप्रमुख पदमा उम्मेदवारी दिएका हरिनारायण महतो र चन्देश्वर महतोले उम्मेदवारी फिर्ता लिएका छन । 

सो नगरपालिकाको विभिन्न वडाका वडाध्यक्ष पदका लागि दिएका पाँच र वडासदस्य पदका चार जनाले उम्मेदवारी फिर्ता लिएका निर्वाचन अधिकृत दीपक धितालले जानकारी दिए । धनुषाधाम नगरपालिकामा एक उपप्रमुखको उम्मेदवारसहित सात जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत चिरन्जीवी गौतमले जानकारी दिए । 

लोकतान्त्रिक समाजवादी पार्टीबाट उपमेयरमा उम्मेदवारी दिएकी मेनकाकुमारी सिंह र वडाध्यक्षका दुई तथा सदस्यका चार जनाले उम्मेदवारी फिर्ता लिएका छन । धनुषाको बटेश्वर गाउँपालिकाको गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएका खगेन्द्रबहादुर कटुवाल र वडाध्यक्षका एक तथा दलित महिला सदस्यका एक उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको जनाइएको छ ।

धनौजी गाउँपालिकामा समेत अध्यक्ष पदका उम्मेदवार लक्ष्मण मण्डल तथा दुईजना वडाध्यक्ष पदका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत पोषराज खनालले जानकारी दिए । विदेह नगरपालिकामा दुई वडाध्यक्ष पदका उम्मेदवारसहित पाँच, हंसपुर नगरपालिकामा दुईजनाले उम्मेदवारी फिर्ता लिएका छन । सबैला नगरपालिकामा छ  वडाध्यक्ष र एक वडा सदस्य पदका उम्मेदवारसहित सात जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत वासुदेव पाण्डेले जानकारी दिए । धनुषामा एक उपमहानगर, ११ नगरपालिका र ६ गाउँपालिका गरी कूल १८ स्थानीय तह रहेको छ ।