प्रदेश 2

वीरगञ्जको सोनार समाजका अगुवा भन्छन, “भोट राजेशमान नेतृत्वको गठबन्धनलाई दिन्छौं”

१७ वैशाख, वीरगञ्ज । वीरगञ्जका सोनार समाजले गठबन्धनका उम्मेदवारहरुलाई पूर्ण बहुमतका साथ जिताउन आह्वान गरेका छन् ।

आज आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा उपस्थित सोनार समाजले गठबन्धनका उम्मेदवारलाई जिताउने उद्घोष गरेका छन ।

नेपाल सुन चाँदी व्यवसायी संघ पर्साका अध्यक्ष भुलन सर्राफ तथा स्थानीय व्यवसायी रामरतन सर्राफको संयुक्त आयोजनामा भएको कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै पर्सा क्षेत्र नम्बर १ का प्रतिनीधिसभा सदस्य प्रदीप यादवले वीरगञ्जका जनता अब विकासका लागि सचेत हुनुपर्नेमा जोड दिए । वीरगञ्जमा अहिले कुनै विकास नभएकोमा आक्रोश पोख्दै अब महानगरको बागडोर सम्हाल्ने व्यक्ति परिवर्तन भएपछि मात्रै वीरगञ्ज पनि परिवर्तन हुने बताए ।

त्यसैगरी वीरगञ्ज महानगरपालिकाको मेयरका उम्मेदवार राजेशमान सिंहले निरन्तर जनताको माझमा भिजेको व्यक्तिले नै जनताको समस्यालाई बुझ्न सक्ने बताए । उनले भने, ‘वीरगञ्जको विकास र कायापलटका लागि यहाँका समस्याहरुसँग नजिकबाट परिचित व्यक्ति नै नेतृत्वमा पुग्नुपर्छ । यो निर्वाचनमा सबैले सोचेर मत दिनुहुनेछ भन्ने विश्वास छ ।’

त्यसैगरी उपमेयरका उम्मेदवार इम्तियाज आलमले विगतमा गरिएको गल्तीलाई अब सच्याउने बेला आएको बताए ।
कार्यक्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ का निवर्तमान वडाअध्यक्ष बैजु स्वर्णकारले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

गठबन्धनबाट मेयरका साझा उम्मेदवार राजेशमान सिंह र उपमेयरका इम्तियाज आलमलाई जिताउनका लागि गतिविधि बढाउने पनि सोनार समाजले बताएका छन् ।

कार्यक्रममा व्यसायी प्रमोद सर्राफ, वडा नम्बर ३ का निवर्तमान अध्यक्ष बैजु स्वर्णकार, वीरगञ्ज महानगरपालिकाका निवर्तमान कार्यपालिका सदस्य एवम् वडा नम्बर १० मा जसपाबाट वडा अध्यक्ष पदका उम्मेदवार सुशील कुमार कानु, वडा नम्बर १५ मा जसपाबाट वडा अध्यक्ष पदका उम्मेदवार रमेश यादव, जसपाका नेता मुकेश द्विवेदीलगायतको उपस्थिति रहेको थियो ।