राजनीति

मुलुकमा परिवर्तन र लोकतन्त्रको पक्षमा लाग्नेबीच गठबन्धन– सभापति देउवा

२५ वैशाख, घोराही । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले मुलुकमा परिवर्तन र लोकतन्त्रको पक्षमा लाग्ने दलहरूबीच गठबन्धन भएको बताएका छन् । आज घोराहीमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै उनले पाँच दलीय गठबन्धनले संविधानको रक्षा गर्न सकेको बताए ।

सभापति देउवाले सबै नेता तथा कार्यकर्ताहरूलाई गठबन्धनको मर्मअनुसार इमान्दारीपूर्वक मतदान गर्न अपिल गरे । पाँच दलीय गठबन्धनका उम्मेदवारहरुलाई विजयी बनाउन कांग्रेस कार्यकर्ता अझ बढी सक्रियताका साथ लाग्नुपर्ने उनको भनाइ थियो ।

चुनावी सभामा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तह निर्वाचन ऐतिहासिक जनमत सङ्ग्रह भएको बताए । उनले अग्रगमन र प्रतिगमनको लडाइँ अझै नसकिएकाले गठबन्धनको महत्व भएको बताए । गठबन्धनको महत्व घोराहीले दिएको र यसलाई सार्थकता दिन माओवादी र नेपाली कांग्रेसका प्रमुख, उपप्रमुखलाई जिताउनुपर्ने उल्लेख गरे।

“गठबन्धनको महत्वलाई घोराहीले झल्काएको छ”, उनले भने, “घोराहीको राम्रो कामको सन्देश नेपालभर दिँदै आएका छौँ, अब जितेर देखाउन मात्रै बाँकी छ ।” हार्दिकताको सम्बन्ध, सहमति र एकताले नै गठबन्धन सफल हुनेसमेत उनले उल्लेख गरे ।