सुदूरपश्चिम

एक सय दुई वर्षीया पनेरुबाट मतदान


३० वैशाख, कञ्चनपुर । स्थानीय तहका लागि भइरहेको निर्वाचनमा शुक्लाफाँटा नगरपालिका–२ ढकनियाका १०२ वर्षीया यशोदादेवी पनेरुले मतदान गरेका छन् । मतदान अधिकृत महेशराज भट्टका अनुसार वैजनाथ आधारभूत विद्यालय लक्ष्मीपुर ‘ख’ मतदान केन्द्रमा उनले पहिलो मत खसालेका हुन् । ज्येष्ठ नागरिक यशोदाका छोरा जनकराज पनेरुले उनले रुचाएका उम्मेदवारलाई मतदान गर्न सघाए । पञ्चायती व्यवस्थादेखि आफू हालसम्म निरन्तररुपमा मतदानमा सहभागी हुँदै आएको यशोदाले बताए ।

“गाउँको विकासमा योगदान गर्नसक्ने उम्मेदवारलाई मतदान गरेँ”, उनले भने, “सबैजनाले योग्य उम्मेदवारलाई मतदान गरी पुण्य कमाउनुपर्छ । मतदान गर्नु पनि तीर्थ गएसरह नै हो । विजयी हुने उम्मेदवारले मतको कदर गरी नाम कमाउनुपर्छ ।” “आमाले मतदान गर्ने इच्छा व्यक्त गरे, “यशोदाका छोरा जनकराज पनेरुले भने, “मोटरसाइकलमा बोकेर मतदान केन्द्रसम्म पु¥यायौँ र मतदानपश्चात् घर पु¥याएका छौँ ।”

कञ्चनपुरमा अहिलेसम्म ४० प्रतिशत मतदान भएको छ । एक दुई ठाउँमा सामान्य विवादबाहेक जिल्लामा शान्तिपूर्णरुपमा मतदान भइरहेको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले बताए ।

“पानी पर्ने क्रममा मतपेटिका बाहिर र भित्र गर्दा भीमदत्त नगरपालिका–९ मटैनामा केही विवाद भएको थियो”, उनले भने, “पानी पर्ने क्रम रोकिएसँगै छलफल गरी विवाद साम्य गरेर मतदान पुनः सञ्चालन गरिएको छ ।”

पुनर्वास नगरपालिका–१० मा केही विवाद देखिएकाले मतदानको कार्य रोकिएको उनले बताए । विवाद साम्य पार्न छलफल भइरहेकाले केहीबेरमै मतदान सञ्चालन गरिने मतदान अधिकृत धामीले बताए । जिल्लाभर भइरहेको मतदानमा मतदाताको उत्साहजनक सहभागिता देखिएको छ । पानीको पर्वाह नगरिकन पनि मतदाताले मतदानलाई निरन्तरता दिएका छन् ।