समाचार

महानगर प्रमुखमा कांग्रेसका महर्जनको डबल भन्दा बढी मतले अग्रता कायम

३ जेठ, ललितपुर । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा एमालेकी मञ्जली शाक्यको अग्रता कायम छ । पछिल्लो विवरणअनुसार नेपाली कांग्रेसका उम्मेदवार महर्जनले १४ हजार २८५ र नेकपा (एमाले) का हरिकृष्ण व्यञ्जनकारले सात हजार १२९ मत पाएका छन् । उपप्रमुखमा एमालेकी उम्मेदवार शाक्यले सात हजार ३७७ मत र नेकपा (माओवादी) का बाबुराजा बज्राचार्यले चार हजार ७७५ मत पाएका छन् ।

आठ वडाको वडाध्यक्षमा नेपाली चार कांग्रेस, दुई नेकपा (एकीकृत समाजवादी) एक एमाले र एक स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । हाल वडा नं ९, १० र ११ को गणना जारी रहेको छ । महानगरपालिकामा २९ वडा रहेकामा हालसम्म आठ वडाको मात्रै परिणाम आएको छ । शुक्रबार मतदान भएकामा शनिबारबाट मतगणना सुरु भएको थियो । सुरुमा एक ठाउँमा मात्रै गणना भएकामा हाल तीन वडाको एकै पटक गणना भइरहेको छ । अन्तिम मतपरिणाम आउन अझै केही दिन लाग्ने देखिएको छ ।